वामदेव र बाबुरामले हँसिया हथौडा चिह्न लिएर चुनाव लड्ने
नेपाल समाजवादी पार्टी र नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानले नेकपा (माओवादी केन्द्र)को चुनाव चिह्नबाट निर्वाचन लड्ने भएका छन्।
साउन ३१ गते बसेको माओवादी केन्द्रको स्थायी समिति बैठकले दुवै पार्टीलाई आफ्नो चिह्न प्रयोग गर्न दिने निर्णय गरेको हो। बैठकबारे जानकारी दिंदै माओवादी प्रवक्ता कृष्णबहादुर महराले भने, “वामदेव र बाबुरामजीलाई माओवादी केन्द्रको चुनाव चिह्नबाट निर्वाचन लड्न दिने पार्टीले निर्णय गरेको छ।”
बाबुराम भट्टराईले जनता समाजवादी पार्टी विभाजन गरेर नेपाल समाजवादी पार्टी र वामदेव गौतमले नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियान नामक पार्टी निर्वाचन आयोगमा दर्ता गराएका छन्। उनीहरूले मंसीर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा माओवादीको चिह्न प्रयोग गर्न खोजेका हुन्।