‘प्रतिनिधि सभा चुनावमा कम्तीमा ८३ क्षेत्रमा महिला उम्मेदवार उठाऊ’
प्रतिनिधि सभाका सांसदहरूले मंसीर ४ गते हुने आम निर्वाचनमा प्रत्यक्षतर्फ कम्तीमा ५० प्रतिशत महिला उम्मेदवार उठाउन माग गरेका छन्।
सांसदहरूले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा महिलालाई जनसंख्याका आधारमा समानुपातिक उम्मेदवार उठाउन माग गरेका हुन्। राष्ट्रिय जनगणना, २०७८ अनुसार पुरुष भन्दा महिलाको संख्या ६ लाख भन्दा बढी छ।
महिलालाई समानुपातिक प्रणालीबाट मात्रै सांसद बनाइएकोप्रति सांसदहरूको गुनासो छ।
बैठकमा नेकपा (एमाले) नेतृ बिन्दा पाण्डेले प्रदेश सभा र संघीय संसद्को निर्वाचनमा महिलाको समानुपातिक सहभागिता गराउन आवश्यक भएको भन्दै कानून, न्याय तथा संसदीय मामिला मन्त्रीको ध्यानाकर्षण गराएकी थिइन्।
यस्तै, नेकपा (माओवादी केन्द्र) नेत्री अमृता थापाले ‘संघीय संसद्को प्रतिनिधि सभा र प्रदेश सभाको प्रत्यक्षतर्फ प्रत्येक दलले जनसंख्याका आधारमा समानुपातिक समावेशी प्रतिनिधित्व बमोजिम महिला उम्मेदवार दिनुपर्ने र वडा तहमा दलित महिलाको उम्मेदवारी नपरेमा अल्पसंख्यक वा सीमान्तीकृत वा अरू कुनै समुदायबाट महिलाको उम्मेदवारी आह्वान गर्ने व्यवस्था गर्न अत्यावश्यक भएको’ भन्दै जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव प्रस्तुत गरेकी थिइन्।
थापाको प्रस्तावलाई लक्ष्मी परियार लगायत विभिन्न दलका ११ सांसदले समर्थन गरेका थिए।