चुनावमा तालमेल गर्ने गठबन्धनको निर्णय संविधान विरुद्ध: भीम रावल
नेकपा (एमाले) नेता भीम रावलले आम निर्वाचनमा तालमेल गर्ने सत्तारूढ पाँच दलको निर्णय संविधानको धारा २६९ विपरीत भएको बताएका छन्।
काठमाडौंमा साउन २० गते आयोजित साक्षात्कार कार्यक्रममा रावलले भने, “फरक फरक सिद्धान्त भएका पाँच दलीय गठबन्धनले चुनावमा तालमेल गर्नु संविधानको धारा २६९ विरुद्ध छ।”
पाँच दलले आजै आगामी प्रदेश सभा र प्रतिनिधि सभामा तालमेल गर्ने निर्णय गरेका छन्। समान विचारधारा भएका दलहरूबीच मात्रै चुनावी तालमेल हुनुपर्नेमा उनको जोड छ।
रावलले भने, “संघीयता मूर्दावाद भन्ने र संघीयता नभई हुँदै हुँदैन भन्नेहरू एउटै गठबन्धनमा छन्, अब चुनावी घोषणापत्रमा के लेख्छ?, नेपाली कांग्रेस जिन्दावाद लेख्छ?”
संविधानको धारा २६९ मा राजनीतिक दलको गठन, दर्ता र सञ्चालन सम्बन्धी व्यवस्था गरिएको छ।