एक सातामा ९६ प्रतिशतले बढे कोरोना सङ्क्रमित
कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या गत साताको तुलनामा यो साता ९६ प्रतिशतले बढेको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्क अनुसार, पीसीआर परीक्षणमा साउन पहिलो साता एक हजार ९६१ सङ्क्रमित थपिएका छन्। जबकि, असार अन्तिम साता एक हजार एक सङ्क्रमित थपिएका थिए। असार अन्तिम साताको तुलनामा साउन पहिलो साता नयाँ थपिएका सङ्क्रमितको सङ्ख्या ९६ प्रतिशतले बढेको हो।
यो छिमेकी देशको तुलनामा सबैभन्दा बढी हो। भारतमा असार अन्तिम साताको तुलनामा साउन पहिलो साता सङ्क्रमितको सङ्ख्या १० प्रतिशतले बढेको छ। त्यस्तै, चीनमा गत साताको तुलनामा यो साता ६२ प्रतिशतले सङ्क्रमित थपिएका छन्।
केही दिनयता नेपालमा सङ्क्रमितको सङ्ख्या बढ्दै आएको छ। शनिबार ३३५ जनामा कोरोना सङ्क्रमण देखिएको छ। जसमा एक हजार ८८ जनाको पीसीआर परीक्षण गर्दा २१६ जनामा र एक हजार ९०८ जनाको एन्टिजेन परीक्षण गर्दा ११९ जनामा कोरोना पुष्टि भएको हो।
पछिल्लो समय नेपालमा ओमिक्रोनको नयाँ भेरियन्ट ‘बीएफ.१’ देखिएको छ। जसले गर्दा सङ्क्रमण बढ्न थालेको चिकित्सकहरूले बताएका छन्।