कमिशन नदिंदा बीमाको रकम भुक्तानी भएन: निजी अस्पताल सञ्चालक
कमिशन नदिंदा बीमा बोर्डका पदाधिकारीले बीमाको रकम भुक्तानी नगरेको निजी अस्पताल सञ्चालकले आरोप लगाएका छन्।
बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी बीमा बोर्डका पदाधिकारीका कारण आफ्नो करोडौं रकम डुबेको गुनासो गरेका छन्। बीएन्डसी मेडिकल कलेजका सञ्चाल दुर्गा प्रसाईं, नोबेल मेडिकल कलेजका सञ्चालक सुनील शर्मा र विराट मेडिकल कलेजका सञ्चालक डा. ज्ञानेन्द्रमान सिंह कार्कीले बीमा बोर्डका पदाधिकारीको गलत नियतले गर्दा आठ महीनाको बीमाको रकम भुक्तानी नभएको बताएका हुन्।
“हामीले बीमा गरेको बिरामीको उपचार गरेको भुक्तानी खाता हेरे बापत दुई प्रतिशत कमिशन दिनुपर्ने रे। दिएन भने आठ प्रतिशत ‘रेजेक्शन’ हान्दिने, ‘बीमा क्यान्सिल’ गर्दिम् भनेर थर्काउने,” प्रसाईंले भने।
उनको भनाइमा सहमति जनाउँदै शर्माले थपे, “अर्थ मन्त्रालयका कर्मचारीले निजी अस्पताललाई यत्रो पैसा दिने अनि हामीलाई के आउँछ भनेर अड्को थाप्छन्।”
आर्थिक वर्ष २०७९/८० को बजेटमा ‘स्वास्थ्य बीमा कार्यक्रमलाई थप व्यवस्थित र प्रभावकारी बनाउन लाभग्राहीहरूलाई सामुदायिक तथा सरकारी अस्पतालहरूबाट मात्र उक्त सेवा प्रदान गर्ने व्यवस्था मिलाइने उल्लेख छ। त्यसै गरी, यसका लागि सबै सामुदायिक तथा सहकारी अस्पतालहरूमा सामाजिक स्वास्थ्य एकाइ स्थापना गरिने र स्वास्थ्य बीमा कार्यक्रमलाई दिगो बनाउन बीमा कम्पनी मार्फत सञ्चालन गर्न आवश्यक तयारी गरिने बजेट वक्तव्यमा भनिएको छ।
बजेटको त्यही बुँदाले स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्न अन्योल भएको निजी अस्पताल सञ्चालकहरूको भनाइ छ। त्यसैले उनीहरूले हाललाई बीमा कार्यक्रम बन्द गरेको घोषणा गरेका छन्।
नोबेल अस्पतालका सञ्चालक शर्माले कोभिड–१९ को उपचार गरे बापत १० करोड १६ लाख ६० हजार पाँच सय र बीमाको उपचार गरे बापत ६२ करोड ६२ लाख भुक्तानी पाउन बाँकी रहेको बताए। त्यस्तै, बीएन्डसी मेडिकल कलेजले बीमाको उपचार गरे बापत ५४ करोड रुपैयाँ लिन बाँकी रहेको प्रसाईंले बताए। विराट मेडिकल कलेजले ४६ करोड भुक्तानी पाउन बाँकी रहेको कार्कीको भनाइ छ।
बजेटपछि बीमा कार्यक्रम चलाउन अन्योल भएको विषयमा बुझ्न खोज्दा बीमा बोर्ड, स्वास्थ्य मन्त्रालय र प्रधानमन्त्री कार्यालयबाट सकारात्मक जवाफ नआएको उनीहरूको भनाइ छ। “बजेटमै साउन १ गतेबाट निजी अस्पताललाई बीमा कार्यक्रम सञ्चालन गर्न नदिने उल्लेख छ, यस्तो हुँदाहुँदै हामी कसरी बीमा गर्नेलाई सेवा दिन?” नोबेल मेडिकल कलेजका सञ्चालक शर्माले भने।
बीमा बोर्डले भने अस्पतालहरूले गलत र बढी रकम दाबी गरेकाले भुक्तानी दिन समय लागेको बताएको छ। निजी अस्पताल सञ्चालक भने जाँच गर्न आग्रह गरिरहेका छन्।