यस्तो छ कुहिने र नकुहिने फोहोर उठाउने तालिका
काठमाडौं महानगरपालिकाले साउन १ गतेदेखि कुहिने र नकुहिने फोहोर सङ्कलन गर्न पनि छुट्टाछुट्टै दिन तोकेको छ।
महानगरले सूचना जारी गरी साउनदेखि कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै दिन सङ्कलन गर्ने जनाएको छ। साउन १ गतेदेखि हप्तामा चार दिन फोहोर सङ्कलन हुने भएको छ।
आइतबार र बुधबार कुहिने फोहोर सङ्कलन गरिने महानगरले जनाएको छ। त्यस्तै, सोमबार र शुक्रबार नकुहिने फोहोर सङ्कलन गरिने भएको छ।
तोकिएको दिनमा तोकिएको फोहोर व्यवस्थापनका लागि सहयोग गर्न महानगरले अनुरोध गरेको छ। त्यसका लागि घरमै फोहोर वर्गीकरण गर्नुपर्नेछ।
घरमा नै फोहोर वर्गीकरण नगरिए कारबाही गरिने महानगरले जनाएको छ। प्रत्येक पटक पाँच सय रुपैयाँ जरिवाना गरिने भएको छ।
महानगरको वातावरण तथा कृषि विभागले भनेको छ, ‘स्रोतमा नै फोहोरको पृथकीकरण नगरेमा फोहोर सङ्कलन नगर्ने र काठमाडौं महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ को दफा ५१ (थ) तथा फोहोरमैला व्यवस्थापन ऐन, २०६८ को दफा ३८ (थ) अनुसार कसूर मानी प्रत्येक पटक पाँच सय रुपैयाँ जरिवाना हुने ब्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।’