बालेनलाई उपत्यकाका मेयरहरूले भने- फोहोर छुट्याउने योजनामा सहयोग गर्छौं
काठमाडौं उपत्यकाका मेयरहरूले फोहोरमैलाको दिगो व्यवस्थापनका लागि काठमाडौं महानगरपालिकाले नेतृत्व लिनुपर्ने बताएका छन्।
सोमबार राष्ट्रिय सभा गृहमा भएको बैठकमा काठमाडौं उपत्यकाका मेयरहरूले फोहोर व्यवस्थापनमा साथ दिने बताएका हुन्। उनीहरूले काठमाडौंका मेयर बालेन्द्र साह (बालेन)ले अघि सारेको फोहोर छुट्याउने योजना कार्यान्वयन गर्नुपर्नेमा जोड दिए। त्यसका लागि आफूहरूले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।
काठमाडौं महानगरले साउन १ गतेदेखि फोहोरको स्रोतमै जैविक र अजैविक फोहोर छुट्याउनुपर्ने योजना ल्याएको छ। घरमै कुहिने र नकुहिने छुट्याउनेपर्ने जनाएको छ। कुहिने र नकुहिने फोहोर नछुट्याउनेलाई कारबाही गर्ने महानगरले जनाएको छ। यसमा अन्य मेयरले पनि सहमति जनाएका हुन्।
बैठकमा मेयर साहले ल्यान्डफिल साइट पुग्ने सडक निर्माणका लागि सडक विभागसँग समन्वय भइरहेको बताए। काठमाडौंको फोहोर व्यवस्थापनका लागि सबै स्थानीय तहका जनप्रतिनिधिले सहकार्य गर्नुपर्न साहको भनाइ थियो।