प्रधानन्यायाधीशमाथिको महाअभियोग फिर्ता हुनुपर्छ या अगाडि बढ्नुपर्छ: ओली
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्धको महाअभियोग प्रस्ताव अगाडि बढाउनुपर्ने वा फिर्ता लिनुपर्ने बताएका छन्।
सोमबार सम्पादकहरूसँगको अन्तरक्रियामा अध्यक्ष ओलीले महाअभियोग प्रस्ताव यतिकै झुलाएर राख्न नहुने बताए। “प्रधानन्यायाधीशमाथिको महाअभियोग कि फिर्ता हुनुपर्छ कि अगाडि बढाउनुपर्छ,” ओलीले भने।
प्रधानन्यायाधीश जबरामाथि सत्तारुढ गठबन्धनका सांसदले गत फागुन १ गते प्रतिनिधि सभामा महाअभियोग प्रस्ताव दर्ता गराएका छन्। प्रधानन्यायाधीश जबरा निलम्बनमा छन् भने लामो समयदेखि महाअभियोग प्रस्तावलाई प्रक्रियामा अगिएको छैन। “महाअभियोग प्रस्ताव अगाडि नबढाई राख्दा प्रतिशोध हो भन्ने देखिन्छ,” ओलीले भने।
अध्यक्ष ओलीले महाअभियोग प्रस्ताव षडयन्त्र भएको जिकिर गरे। उनले भने, “महाअभियोग भन्दा पनि निकम्मापन हो, यो षडयन्त्र हो, तिकडम हो।”
निलम्बित प्रधानन्यायाधीश जबराका विषयमा भने अध्यक्ष ओलीले कुनै टिप्पणी गरेनन्। उनले भने, “व्यक्तिको बारेमा टिप्पणी गर्न चाहन्न।”