विज्ञ भन्छन्- दिसामा पाइने जीवाणु खानेपानीमा मिसिंदा काठमाडौंमा हैजा फैलियो

काठमाडौंको खानेपानीमा दिसामा पाइने जीवाणु भेटिएको छ। जसले गर्दा हैजा फैलिएको विज्ञहरूले बताएका छन्।
काठमाडौंमा हैजाका बिरामी देखिएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले खानेपानीको परीक्षण गरेको छ। पानी परीक्षण गर्दा दिसामा पाइने जीवाणु (फिकल कोलिफर्म) भेटिएको महाशाखाका निर्देशक डा. चुमनलाल दासले बताए।
उनका अनुसार, काठमाडौंका जार, इनार, धारा, ट्याङ्कर र बोरिङ लगायतको पानीमा दिसामा हुने जीवाणु भेटिएको हो। डा. दासले हिमालखबरसँग भने, “हामीले गरेको परीक्षणमा जार, धारा, ट्याङ्कर र बोरिङ लगायत कुनै पनि स्रोतको पानी पिउनयोग्य देखिएन।”
अहिलेसम्म बागबजार, डिल्लीबजार र सानेपा क्षेत्रमा हैजाका बिरामी देखिएका छन्। महाशाखाले हैजा देखिएका ठाउँ बागबजार, डिल्लीबजार र सानेपामा रहेका धारा, जार, ट्युबवेल, इनार र बोरिङको पानी परीक्षण गरेको थियो। त्यहाँको खानेपानी प्रदूषित पाइएको छ।
त्यस्तै, बल्खु, नैकाप, थानकोट, कोटेश्वर र बूढानीलकण्ठ लगायत ठाउँको पानी परीक्षण गर्दा पनि प्रदूषित देखिएको छ। “अधिकांश ठाउँको पानी ६० देखि ७० प्रतिशत प्रदूषित छ, जसले हैजा गराउन सक्छ,” डा. दासले भने।
डा. दासका अनुसार, सोमबार गरिएको परीक्षणमा नयाँ बिरामी देखिएका छैनन्। तर, हैजाको लक्षण लिएर अस्पताल पुग्ने बिरामी भने बढेका छन्।
टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका चिकित्सक डा. शेरबहादुर पुनले हैजाको लक्षण लिएर अस्पताल पुग्ने बिरामीको संख्या दोब्बरले बढेको बताए। उनका अनुसार, अस्पतालमा भर्ना भएका बिरामी कुनै निश्चित क्षेत्रको नभई फरक फरक ठाउँका छन्।
बिरामीको ‘केस हिस्ट्री’ हेर्दा उपत्यकाका अधिकांश ठाउँको पानी प्रदूषित भएर हैजाको सङ्क्रमण देखिएको बुझिने डा. पुनले बताए। “पानीमा पाइने यस्ता जीवाणुले हैजा मात्र होइन, टाइफाइड, हेपाटाइटिस लगायत अन्य सङ्क्रमण समेत गराउँछन्,” उनले भने।
पानी प्रदूषित भएकाले हैजा नियन्त्रण गर्न पानीको मुहान नै सफा गर्नुपर्ने डा.पुनको भनाइ छ। उनका अनुसार, खानेपानी र ढलको पाइप राम्रोसँग व्यवस्थापन नगर्दा यस्तो समस्या आउँछ। “हैजा फैलिएको ठाउँका पानीको स्रोत पत्ता लगाएर मात्र अहिलेको अवस्था नियन्त्रण गर्न सकिन्छ,” डा. पुनले भने।
सफा र ताजा खानेकुरा खाने र पानी तताएर पिउन सके हैजाबाट बच्न सकिन्छ। हैजा फैलिएको ठाउँमा लक्षणविहीन मानिस पनि हुने भएकाले सावधानी अपनाउनुपर्ने डा. पुनको सुझाव छ। “काम गरिसकेपछि र खाना खानुभन्दा अघि राम्रोसँग हात धुने बानी बसाले हैजा लाग्न र फैलिनबाट रोक्न सकिन्छ,” उनले भने।
काठमाडौं उपत्यकामा पहिलो पटक यही असार ५ गते दुई जनामा हैजा पुष्टि भएको थियो। असार २ गते शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा भर्ना भएका १८ र २३ वर्षीय बिरामीमा हैजा पुष्टि भएको हो। दुवै जना काठमाडौं महानगरपालिका–२८ बागबजारमा बस्दै आएका थिए।
त्यसयता हैजाका बिरामी बढ्दै गएका छन्। गत एक सातामा १० जना बिरामी थपिएका छन्। हालसम्म १२ जनामा हैजाको सङ्क्रमण पुष्टि भएको छ। जसमध्ये आठ जना निको भएर घर फर्किसकेका छन् भने चार जनाको उपचार भइरहेको छ।