यी हुन् आगामी तीन दिन बाढी आउने नौ नदी
मनसुनी वायुको प्रभावले वर्षासँगै आगामी तीन दिन देशका मुख्य नौ नदीमा बाढी आउने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विभागको बाढी पूर्वानुमान महाशाखाका अनुसार, देशका मुख्य नौ नदी र तिनका सहायक नदीमा पानीको सतह बढ्ने भएको छ। नारायणी र सहायक नदीहरू त्रिशूली र बूढीगण्डकीमा पानीको सतह अत्यधिक बढ्न सक्ने महाशाखाले जनाएको छ। आइतबार त्रिशूलीको बेत्रावती र बूढीगण्डकीको आरुघाट क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
यससँगै आगामी तीन दिन कोशी र यस क्षेत्रका नदीहरू सप्तकोशी, तमोर, अरुण, दूधकोशी, तामाकोशी र सुनकोशीमा बाढी आउने महाशाखाको आकलन छ।
त्यस्तै, नारायणी र यस क्षेत्रका नदीहरू त्रिशूली, बूढीगण्डकी, मर्स्याङ्दी, सेती र कालीगण्डकीमा पनि पानीको सतह बढ्ने देखिएको छ। कर्णाली र यस क्षेत्रका नदीहरू भेरी र पश्चिम सेतीमा पनि बाढीको सम्भावना रहेको महाशाखाले जनाएको छ।
महाकाली, कन्काई, कमला, बागमती, पूर्व राप्ती र पश्चिमी राप्तीमा पनि आगामी तीन दिन बाढी आउन सक्ने बाढी पूर्वानुमान महाशाखाको प्रक्षेपण छ।
बबईको जल सतह भने सामान्य बढ्ने महाशाखाले जनाएको छ। नदी क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।