वायुसेवा सञ्चालकको आन्दोलन फिर्ता‚ उडान नियमित सञ्चालन हुने
वायुसेवा सञ्चालक संघ, नेपालले आन्तरिक उडान बन्द गर्ने घोषणा फिर्ता लिएको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरण र वायुसेवा सञ्चालकबीच मंगलबार राति भएको सहमतिपछि वायुसेवा सञ्चालकहरूले सबै आन्तरिक उडान नियमित गर्ने भएका हुन्। वायुसेवा सञ्चालक संघले बुधबार बिहान ११ बजेपछि सबै उडान सञ्चालन गर्ने जनाएको छ।
प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले प्राधिकरणले हवाई सेवा अत्यावश्यक भएको भन्दै उडान बन्द गरे सञ्चालकहरूलाई पक्राउ पुर्जी जारी गर्दै वायुसेवा सञ्चालन अनुमति (एओसी) नै खारेज गर्ने चेतावनी दिएका थिए। “जहाजको बेस व्यवस्थापन निर्देशनको पालना गर्नु वायुसेवा सञ्चालकको कर्तव्य हो,” उनले भने, “अटेर गरे कानून बमोजिम प्रस्तुत हुन्छौं।”
प्राधिकरणले जारी गरेको जहाजको बेस व्यवस्थापन निर्देशन विरुद्ध वायुसेवा सञ्चालकहरूले आन्दोलन गर्ने चेतावनी दिएका थिए। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेको अध्यक्षतामा आइतबार बसेको प्राधिकरणको बैठकले वायुसेवाको जहाँबाट पहिलो उडानको बेस छ‚ त्यहीबाटै पहिलो उडान भर्नुपर्ने तथा नाइट स्पटका लागि त्यहीं वास बस्नुपर्ने निर्णय गरेको थियो। -रासस