भोलिदेखि हवाई सेवा बन्द गर्ने वायुसेवा सञ्चालकको चेतावनी
वायुसेवा सञ्चालक संघ, नेपालले भोलिदेखि देशभर हवाई सेवा बन्द गर्ने घोषणा गरेको छ।
संघले मंगलबार पत्रकार सम्मेलन गर्दै तोकिएको विमानस्थलमा जहाज र हेलिकोप्टर राति राख्नुपर्ने र पहिलो उडान त्यही ठाउँबाट गर्नुपर्ने निर्देशनको विरोधमा सेवा बन्द गर्ने घोषणा गरेको हो।
प्राधिकरणले असार ५ गते विज्ञप्ति मार्फत स्वचालित प्रणालीले तोके बमोजिम र भीआईपीको उडानमा हेलिकोप्टरमा दुई जना पाइलट राख्न निर्देशन दिएको थियो। यस्तै‚ हवाईजहाज सञ्चालक कम्पनीहरूले तोकिएको विमानस्थलमा राति जहाज हेलिकोप्टर राख्नुपर्ने र पहिलो उडान सोही विमानस्थलबाट गर्न निर्देशन दिएको थियो।
संघले यात्रु सेवा शुल्क ल्यान्डिङ, पार्किङ, नेभिगेशन लगायतमा बढाइएको शुल्क फिर्ता लिन लगायत पाँचबुँदे माग राखेको छ।
यस्ता छन् मागः
१. विमानस्थल सेवा शुल्क नियमावली, २०७८ मा यात्रु सेवा शुल्क ल्यान्डिङ, पार्किङ, नेभिगेशन लगायतका सम्पूर्ण शुल्क वृद्धि फिर्ता लिई पूर्ववत् कायम गर्नुपर्ने।
२. त्रि.अ.वि. (त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल) मा हेलिकोप्टर सञ्चालनका लागि दीर्घकालीन हेलिप्याड, मर्मत सम्भारका लागि ह्याङ्गर लगायतका भौतिक पूर्वाधारहरूका लागि स्थान उपलब्ध गराउनुपर्ने।
३. मिति २०७९।०३।०५ को नेपाल नागरिक उड्डयन प्राधिकरणको प्रेस विज्ञप्तिमा उल्लिखित आधार (Operating Base) का प्रावधानहरू हवाईजहाज तथा हेलिकोप्टर दुवै विमान सेवा कम्पनीहरूको हकमा खारेज गरी हालसम्म भइरहेकै व्यवस्था अनुसार त्रि.अ.वि लगायतका विमानस्थलहरूबाट सम्पूर्ण विमान सेवा कम्पनीहरूले विना अवरोध सेवा यथावत् सञ्चालन गर्न पाउनुपर्ने।
४. नियामक निकाय र सेवाप्रदायक संस्था नेपाल नागरिक उड्डयन प्राधिकरण एकै निकाय रहेको कारण यूरोपियन एभियसन सेफ्टी एजेन्सीबाट नेपाललाई हवाई सुरक्षा सूचीमा राखिएबाट देशको सम्पूर्ण पर्यटन क्षेत्र नै तहसनहस भइरहेकाले नेपाललाई यूरोपियन युनियनको हवाई सुरक्षाको सूचीबाट हटाउनका लागि नेपाल सरकार तथा नेपाल नागरिक उड्डयन प्राधिकरणबाट यथाशीघ्र पहल गरिनुपर्ने।
५. त्रि.अ.वि. परिसरमा नियम अनुसार त्रि.अ.वि.बाट स्वीकृत प्राप्त गरी विमान सेवा कम्पनीहरूले निर्माण गरी हवाईसेवाका लागि प्रयोग गरी रहेका स्थान तथा संरचनाहरूलाई यथावत् राखी प्रयोगका लागि निरन्तरता प्रदान गरिनुपर्ने।