प्रधानसेनापति लेबनान प्रस्थान, लेबनानबाटै अमेरिका जाने
प्रधानसेनापति प्रभुराम शर्मा शनिबार लेबनान प्रस्थान गरेका छन्। उनी लेबनानबाटै अमेरिका जाने भएका छन्।
शनिबार बलाधिकृत रथी बालकृष्ण कार्कीले प्रधानसेनापति शर्माको बिदाइ गरेका छन्। उनी सात सदस्यीय प्रतिनिधि मण्डल सहित लेबनान प्रस्थान गरेका हुन्।
प्रधानसेनापति शर्मा द्वन्द्वग्रस्त क्षेत्रमा शान्ति स्थापनार्थ तैनाथ फौजको हौसला अभिवृद्धि गर्न र विभिन्न यूएन मिशनका गतिविधिबारे जानकारी लिन लेबनान प्रस्थान गरेको नेपाली सेनाले जनाएको छ। लेबनान भ्रमणका क्रममा लेबनान, सिरियाका उच्चपदस्थ अधिकारीसँग भेटघाट गर्ने भएका छन्।
प्रधानसेनापति शर्मा लेबनानबाटै अमेरिका प्रस्थान गर्नेछन्। असार १३ देखि १७ गतेसम्म अमेरिकाको औपचारिक भ्रमण गर्ने कार्यक्रम रहेको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।
उनी अमेरिकाको भ्रमण सकेर असार १९ गते स्वदेश फर्किने भएका छन्।