नागरिकता विधेयक पारित गर्न माग गर्दै प्रदर्शन
नागरिकता विधेयक पारित गर्न माग गर्दै तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) ले जनकपुरधाममा प्रदर्शन गरेको छ।
सोमबार जनकपुरधामको जनक चोकबाट निस्केको प्रदर्शनले सोनारपट्टी, राम चोक, विद्यापति चोक, विसहारा चोक, कदम चोक, भानु चोक, शिव चोकको परिक्रमा गर्दै पुनः जनक चोकमा पुगि कोणसभामा परिणत भएको थियो।
कोण सभालाई सम्बोधन गर्दै तमलोपा अध्यक्ष वृषेशचन्द्र लालले संघीय सांसदहरूकै कारणले नागरिकता विधेयक लामो समयदेखि पारित नहुँदा जन्मसिद्ध तथा अंगीकृत नागरिकका सन्तानलाई समस्या भएको बताए। उनले आफ्नै नागरिकप्रति पनि राज्य जिम्मेवार नभएको उनको आरोप थियो।
संविधान जारी भएको सात वर्ष वितिसक्दा पनि संघीय संसद्ले नागरिकता विधेयक पारित नगरि अध्यादेश ल्याउने र अदालतले रोक लगाउने क्रम चलिरहेको उनको भनाइ थियो। जसले गर्दा जनतालाई सास्ती भएको उनले बताए।
संसदको यहि अधिवेशनबाट नागरिकता विधेयक पारित गर्नुपर्ने उनको भनाइ छ। तत्काल नागरिकता विधेयक पारित नभए आन्दोलनमा उत्रिने उनको भनाइ थियो।