एक सातामै बढ्यो गाडी भाडा‚ कुन रुटमा कति?
सरकारले सार्वजनिक यातायातका साधनको भाडा बढाएको छ। इन्धनको मूल्य बढेपछि आजदेखि लागू हुने गरी भाडा बढाएको हो।
यातायात व्यवस्था विभागका अनुसार‚ अन्तर प्रदेश सञ्चालन हुने यात्रुवाहक तथा मालवाहक गाडीको भाडा बढाइएको हो।
विभागले यात्रुवाहक साधनमा २.५ प्रतिशत भाडा बढाएको छ। त्यस्तै, मालवाहक सवारी साधनको भाडादर बढाएको छ। पहाडी रूटमा ३.३ प्रतिशत र तराईका रूटमा ३.७ प्रतिशत भाडा बढेको छ। यसअघि जेठ २० गते भाडा घटाएको थियो।
विभागले २०७८ चैत १७ मा इन्धनको बजार मूल्य पाँच प्रतिशत वा सोभन्दा बढी बढे वा घटेमा अन्तर प्रदेश सञ्चालन हुने यात्रु वाहक र माल वाहक गाडीको भाडा स्वचालित रुपमा घटबढ हुने निर्णय गरेको छ। सरकारले बिहीवार रातिदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो।