धादिङमा पहिरोले घर पुरिंदा एक जना बेपत्ता
धादिङको त्रिपुरासुुन्दरी गाउँपालिका–५ घिमिरेगाउँमा पहिरोले घर पुरिंदा एक जना बेपत्ता भएका छन्।
घरमाथिबाट खसेको पहिरोले घर पुरिएपछि ५५ वर्षीय सीताराम भन्ने नेत्रप्रसाद खाँण बिहीवार रातिदेखि हराइरहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक सूचना अधिकारी राम थापाले जानकारी दिए।
अविरल वर्षाका कारण सडक खनेर घरमाथि थुपारिएको माटोको ढिस्कोसहितको लेदोले घर पुरिएको हो। घरका अन्य सदस्य अर्काे घरमा रहेकाले सकुशल रहेका छन्। नेत्रको अवस्था भने पत्ता लागेको छैन।
पहिरोले घर पुरिएकाले उद्धारमा समस्या भएको प्रहरीले बताएको छ। स्थानीय र नेपाल प्रहरी उद्धारमा लागिरहेका छन्। घटनास्थल क्षेत्रमा जेसीबी जान नसकेको र थप उद्धार टोली आवश्यक भएको नेपाल रेडक्रस सोसाइटीका सभापति नारायण तिमल्सिनाले बताए। -रासस