मनसुनी वायु देशभर फैलिंदै‚ आज यी ठाउँमा वर्षाको सम्भावना
मौसम पूर्वानुमान महाशाखाका अनुसार‚ आज प्रदेश १, मधेश, बागमती र गण्डकी प्रदेशमा वर्षाको सम्भावना रहेको छ।
नेपालमा अहिले पूर्वी भूभागमा मनसुनी वायुको सामान्य प्रभाव र मध्य तथा पश्चिमी भूभागमा स्थानीय वायुको तथा भारतको उत्तर प्रदेश र बिहारमा रहेको पूर्व-पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको छ।
बिहीबार बिहान प्रदेश १, मधेश‚ बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ। दिउँसो र राति प्रदेश १, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
यस वर्ष नेपालमा औसत समयभन्दा एक साताअघि नै मनसुन प्रवेश गरेको छ। सामान्यतया १३ जुनमा मनसुनी वायु नेपाल प्रवेश गर्ने भए पनि यो वर्ष ५ जुन (जेठ २२ गते) मै मनसुन नेपाल प्रवेश गरेको हो। देशको पूर्वी भागबाट छिरेको मनसुनी वायु क्रमशः पश्चिमतिर सरेर देशभरि फैलिन्छ।