हामी दुई महीना बढी सरकारमा बस्न पायौं, नयाँ साथीहरूलाई मौका दिऔं: मन्त्री आले
संस्कृति‚ पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले मन्त्रिमण्डल हेरफेरमा आफू बाधक नभएको दाबी गरेका छन्।
पशुपति क्षेत्र विकास कोषद्वारा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले आफू सरकार छाड्न तयार रहेको बताएका हुन्।
“मन्त्रिमण्डल निर्माण गर्दा हामीलाई ६ महीनाका लागि तोकिएको थियो, तर हामीले त आठ महीना खान पायौं अर्थात् दुई महीना त हामीले ग्रेस पाइसक्यौं‚” मन्त्री आलेले कार्यक्रममा भने, “मैले मेरो पार्टीका आदरणीय नेता माधव नेपाललाई अरू साथीहरूलाई मौका दिन चाहनुहुन्छ भने दिनुस् म खुशी छु भनेर सहमति दिइसकेको छु।”
मन्त्रिमण्डल हेरेफेरका सन्दर्भमा आफ्नो अनावश्यक आलोचना भएको भन्दै आलेले कार्यक्रममा आफ्नै पार्टीका नेताहरूतर्फ लक्षित गरेर केही अपशब्द पनि प्रयोग गरेका थिए।