हजयात्रीलाई सवा दुई लाख शुल्क, घटाउन माग गर्दै गृहमन्त्रीलाई ज्ञापनपत्र
मक्का मदिना जाने हजयात्रीको शुल्क घटाउन माग गर्दै नेपाल मुस्लिम इत्तेहाद सङ्गठनले गृहमन्त्री बालकृष्ण खाणलाई ज्ञापनपत्र बुझाएको छ।
सङ्गठनका अध्यक्ष सराज अहमद फारुकीको नेतृत्वमा गएको टोलीले शनिबार मन्त्री खाँणलाई हजयात्रीका लागि तोकिएको शुल्क घटाउन माग गरेको सचिव हलिम साहले बताए। सरकारले साउदी अरबको मक्का मदिनामा हज गर्ने जाने हजयात्रीका लागि विगतभन्दा दोब्बर शुल्क तोकेको छ।
यही जेठ १५ गते नेपाल हज कमिटीले सूचना जारी गर्दै मक्का मदिना जानका लागि हजयात्रीबाट दुई लाख २५ हजार शुल्क तोकिएको जनाएको छ।
सङ्गठनका सचिव साहले मुस्लिम समुदायको आर्थिक अवस्था कमजोर हुँदा अहिले तोकिएको शुल्क तिरेर जाने अवस्था नरहेको बताए। त्यसैले शुल्क घटाउन माग गरिएको उनको भनाइ छ। ज्ञापनपत्र बुझ्दै मन्त्री खाँणले शुल्क घटाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
ज्ञापनपत्रमा विगतका वर्षमा झैं यस पटक पनि हज गर्ने जाने यात्रीलाई आर्थिक अनुदान दिनुपर्ने, हजयात्रीलाई पैसा जम्मा गर्ने समयावधि जेठ ३० गतेसम्म राख्नुपर्ने, आर्थिक वर्ष २०७६/७७ मा हज गर्न जान भनी फारम भरी रकम जम्मा गरेका हजयात्रीलाई पहिलो प्राथमिकता दिनुपर्ने सचिव साहले बताए।
आगामी असार ७ गते हजयात्री हज गर्न मक्का मदिनामा जाने तयारीमा छन्। कोरोनाभाइरसका कारणले २०७७/७८ सालमा हज गर्न बन्द गरिएको थियो। नेपालका लागि हजयात्रीका लागि एक हजार ५०० जनाको कोटा भए पनि कोरोनाका कारण ५५४ जनालाई मात्र सरकारले लैजाने भएको छ।
नेपालबाट २०२१ सालदेखि नै हज गर्न मुस्लिम समुदायका व्यक्ति मक्का मदिना जाने गरेका छन्। शुरूआतमा भारतको मुम्बईबाट समुद्र सतह हुँदै हजयात्री मक्का मदिना जाने गरेका थिए।
२०४७ सालदेखि हवाई मार्ग हुँदै मक्का मदिना जाने गरिएको छ। पवित्र तीर्थस्थलका रूपमा रहेको मक्का मदिनामा विश्वभरका मुस्लिम समुदाय हजका लागि पुग्छन्। (रासस)