अहङ्कारीले गठबन्धन तोड्न भ्रम फैलाइरहेका छन्: माधव नेपाल
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले तत्काल वाम एकता सम्भव नरहेको बताउँदै बरु अहङ्कारीले गठबन्धन तोड्न भ्रम फैलाइरहेको आरोप लगाएका छन्।
सुर्खेतमा बिहीबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा अध्यक्ष नेपालले एकीकृत समाजवादी, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच तालमेल हुने हल्ला मात्रै भएको बताएका छन्। अहिले एमालेसँग वाम एकता या चुनावी तालमेलको कुनै पनि सम्भावना नरहेको उनको भनाइ थियो।
“अहङ्कारी र षड्यन्त्रकारीहरूले वर्तमान वाम लोकतान्त्रिक गठबन्धन तोड्न अनेक खाले भ्रमहरू फैलाइरहेका छन्,” अध्यक्ष नेपालले भने, “हामीमा कुनै पदको लालसा छैन, षड्यन्त्रकारीको भ्रमलाई सजिलै परास्त गर्न सक्छौं।”
पूर्व प्रधानमन्त्री समेत रहेका नेपालले हालै सार्वजनिक भएको आगामी आर्थिक वर्षको बजेट चुनावीमुखी नभएको टिप्पणी गरेका छन्। उनले भने, “बजेट चुनावको समयमा आएको हो, तर चुनावीमुखी होइन।”
उनले स्थानीय तह निर्वाचन परिणामलाई समीक्षा गर्दै आगामी प्रदेश र प्रतिनिधि सभा निर्वाचनसम्म अहिलेकै वाम–लोकतान्त्रिक गठबन्धनलाई निरन्तरता दिइने बताए।
स्थानीय तह निर्वाचनमा आफ्नो पार्टीले गर्व गर्नलायक सफलता प्राप्त गरेको र कतिपय पालिकामा चुनाव चिह्नको अस्पष्टताले गर्दा सीट गुमाउनुपरेको उनको भनाइ थियो। आफ्नो पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई बधाई तथा प्रशिक्षण दिन नेपाल सुर्खेत पुगेका हुन्।