सुक्खा पहिरोले पुरिएर चैनपुरमा दुई मजदूरको मृत्यु
संखुवासभाको चैनपुर नगरपालिका-१ नुनढाकीमा पहिरोले पुरिएर दुई जना मजदूरको मृत्यु भएको छ।
चैनपुर-नुनढाकी सडक निर्माणका क्रममा सुक्खा पहिरोले पुरिएर दुई मजदूरको मृत्यु भएको प्रहरीले जनाएको छ।
मृत्यु हुनेमा सुनसरीको धरान उपमहानगरका ३५ वर्षीय रामकुमार राई र उदयपुरको चौदण्डीगढी नगरपालिका-६ का २० वर्षीय हिमबहादुर मगर रहेको इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षक मिलन बस्नेतले बताए।
दुवै जना आज बिहान ११ बजे चैनपुर-नुनढाकी सडकखण्डमा तारजाली लगाउने क्रममा ३० मिटरमाथिबाट खसेको सुक्खा पहिरोमा पुरिएका थिए। दुवै जनाको घटनास्थलमै मृत्यु भएको बस्नेतले बताए।
चैनपुरको सिद्धपोखरीदेखि नुनढाकीसम्मको १९ किलोमिटर अमर कन्स्ट्रक्शन कम्पनीले सडक निर्माण गरिरहेको छ।