स्वतन्त्रबाट आएकाले सबैसँग मिलेर काम गर्न सजिलो छः मेयर साह
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले आफू स्वतन्त्रबाट निर्वाचित भएकाले कुनै पार्टीको पक्षमा नलागेर निष्पक्ष रूपमा काम गर्ने बताएका छन्।
नवनिर्वाचित मेयर साहले काठमाडौं महानगरपालिकाको सोमबार बसेको पहिलो बैठकमा बोल्दै आफ्ना लागि सबै पार्टी बराबर भएको बताएका हुन्।
“म कुनै पार्टीको भएको भए पो एउटा पार्टीको पक्षमा लाग्थें होला, स्वतन्त्र भएकाले सबै पार्टी मेरो लागि बराबर हो,” साहले भने, “कुनै पार्टीका लागि काम गरिदिनुपर्ने छैन, नगरवासीका लागि काम गरिदिए पुग्छ।”
सकारात्मक सोच लिएर अघि बढ्दा नै आफू मेयरमा निर्वाचित भएको उनको भनाइ छ। बैठकमा वडाध्यक्षहरूलाई लक्षित गर्दै उनले भने, “दल भनेर परिचय दिन पनि जरुरी थिएन, गरिहाल्नुभयो केही छैन। मैले कसैका लागि कमाइदिनुपर्ने छैन। तपाईंहरूको पनि त्यस्तो हो जस्तो लाग्छ।”
सबै वडाध्यक्षहरूले आआफ्नो वडामा मेयरकै रूपमा काम गर्नुपर्ने धारणा पनि उनले बैठकमा राखे। साहले भने, “सबै वडाध्यक्षहरू आआफ्नो वडाको मेयर हुनुहुन्छ। यो कुरा शब्दमा होइन, व्यवहारमा जनताले अनुभुत गर्न पाउनुपर्यो।”