दश लाख पर्यटक भित्र्याउने लक्ष्य, ग्रेट हिमालयन ट्रेल बनाउन ३३ करोड विनियोजन
सरकारले आगामी आर्थिक वर्ष २०७९/८० मा दश लाख पर्यटक भित्र्याउने घोषणा गरेको छ। अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै सरकारी लक्ष्य घोषणा गरेका हुन्।
बजेटमा कोभिड-१९ महामारीबाट प्रभावित होटल र पर्यटन क्षेत्र सम्बद्ध व्यवसायको आर्थिक वर्ष २०७९/८० को वार्षिक इजाजत र नवीकरण दस्तुर छूट दिने घोषणा गरिएको छ। पर्यटन क्षेत्रको पुनरुत्थानका लागि प्रवाह हुने सहुलियत कर्जालाई निरन्तरता दिइने पनि बजेटले घोषणा गरेको छ।
पर्यटकीय पूर्वाधार विकासमा निजी क्षेत्रको लगानी आकर्षित गरिने पनि अर्थमन्त्री शर्माले बताएका छन्। प्रदेश सरकार र निजी क्षेत्रको सहकार्यमा पहाडी तथा हिमाली क्षेत्रमा मनोरञ्जनात्मक तथा साहसिक पर्यटनको विकासका लागि प्रोत्साहन गरिने बजेट घोषणामा उल्लेख छ।
यस्तै, स्थानीय तहको लागत साझेदारीमा २१६ स्थानमा सञ्चालित पर्यटन पूर्वाधार विकास कार्यक्रमका लागि रु.९० करोड विनियोजन गरिएको छ।
बजेटले उच्च हिमाली क्षेत्रमा पूर्वदेखि पश्चिमसम्म फैलिएको ग्रेट हिमालयन ट्रेल निर्माणका लागि रु.३३ करोड विनियोजन गरेको छ।
पर्यटन क्षेत्रलाई बजेटले रु.नौ अर्ब ३८ करोड बजेट छुट्याएको छ।