पाँच वर्षमा व्यापार घाटा शून्य पार्ने बजेटको घोषणा
सरकारले पाँच वर्षभित्र वैदेशिक व्यापार सन्तुलनमा ल्याउने घोषणा गरेको छ। अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै पाँच वर्षभित्र व्यापार घाटा शून्य बनाउने महत्त्वाकाङ्क्षी घोषणा गरेका हुन्।
उनले धान, मकै‚ गहुँ, तरकारी र फलफूलको आयात आगामी वर्ष न्यूनतम ३० प्रतिशत घटाउने बताए। त्यसै गरी आगामी वर्ष निर्यात दोब्बर गर्ने र आयात २० प्रतिशत घटाउने बताए।
अर्थमन्त्री शर्माले मर्यादित रोजगारी वार्षिक ३० प्रतिशत वृद्धि गर्ने र तीन वर्षमा भूमिहीन, गरीबलाई घर दिने बताए। वार्षिक आठ लाख नेपालीलाई गरीबीको रेखामाथि उकास्ने घोषणा पनि बजेटले गरेको छ। बजेटले मानव विकास सूचकांक ०.६५ पुर्याउने घोषणा गरेको छ।