सीए तीर्थराज उपाध्यायको अमेरिकामा निधन
नेपालका अग्रणी चार्टर्ड एकाउन्टेन्ट तीर्थराज उपाध्यायको ७३ वर्षको उमेरमा निधन भएको छ।
अमेरिकाको वाशिङ्टनमा रहेका उपाध्याय शुक्रबार एउटा शपिङ सेन्टरमा लडेर घाइते भएका थिए। उनलाई तत्काल मेरिल्यान्डस्थित अस्पताल लगिएको थियो। अस्पतालमा उनलाई लाइफ सपोर्टमा राखिए पनि बचाउन नसकिएको जनाइएको छ।
उपाध्याय दम्पती आफ्नी छोरीसँग भेटघाटका लागि अमेरिका भ्रमणमा थिए। उनको टीआर शर्मा एन्ड एसोसिएट कम्पनीले नेपालको अग्रणी संघ, संस्था तथा उद्योग-व्यवसायको लेखापरीक्षण गर्दै आएको छ।
उपाध्याय नेपालको लेखा परीक्षण क्षेत्रको अग्रणी र व्यवसायिक व्यक्तित्वका रुपमा चिनिन्थे। उनी द इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ नेपालका पूर्व अध्यक्षसमेत थिए। उनले एकाउन्टिङ स्यान्डर्ड बोर्डको पनि नेतृत्व गरेका थिए।
नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था (आईक्यान) का पूर्व अध्यक्ष कृष्णप्रसाद आचार्यले नेपालको चार्टर्ड एकाउन्टेन्सी व्यवसायमा उपाध्यायको योगदानलाई बिर्सन नमिल्ने बताउँछन्। “उहाँ यो क्षेत्रका सबैको अभिभावक हुनुहुन्थ्यो, नेपालमा चार्टर्ड एकाउन्टेन्सी पेशालाई व्यवसायिक बनाउन उहाँको ठूलो योगदान छ,” आचार्य भन्छन्।
आइक्यानको स्थापना गर्न पनि उपाध्यायको महत्वपूर्ण भूमिका थियो। उनले महालेखा परीक्षक कार्यालयमा सल्लाहकारको भूमिकामा पनि काम गरेका थिए।
उनको कम्पनीले केही वर्षसम्म अन्तर्राष्ट्रिय लेखापरीक्षण कम्पनी ‘केपिएमजी’ को नेपाल प्रतिनिधिका रूपमा पनि काम गरेको थियो। जसको एउटा उदाहरणीय कार्य नेपाल ब्यांक लिमिटेड र राष्ट्रिय वाणिज्य ब्यांक सुधार हो।
स्वच्छ छवि बनाएर काम गर्ने हो भने आफ्नो अडान पनि राख्न सकिने र त्यसले दीर्घ प्रतिफल दिने धारणा उपाध्यायको हुने गरेको उनीसँगै काम गरेका जगदीश भट्टराई बताउँछन्। “नेपालमा सीए पेशालाई सम्मानित र मर्यादित बनाउन उहाँको योगदान छ,” भट्टराई भन्छन्, “उहाँ हक्की स्वभावको हुनुहुन्थ्यो र काममा कुनै प्रकारको सम्झौता रुचाउनुहुन्नथ्यो। उहाँको अर्को विशेषता भनेको कामको समीक्षा र सम्पादनको चुस्तता हो।”
शर्मा नेपालका पहिलो चार्टड एकाउन्टेन्ट स्वर्गीय कुबेर शर्माका भाइ हुन्। दुई भाइले शुरूआती दिनमा कुबेर एन्ड कम्पनी मार्फत नेपालको व्यावसायिक लेखापरीक्षणलाई अघि बढाएका थिए। पछि दाजु कुबेरले कुबेर एन्ड कम्पनी र भाइ तीर्थराजले टीआर उपाध्याय एन्ड कम्पनी मार्फत काम अघि बढाए।
दाजु कुबेरले नै सीए प्राक्टिस गरेको मुम्बईको विलमोरिया मेहता एन्ड कम्पनीमै तीर्थराजले पनि सीए प्राक्टिस गरेका थिए। हाल सो फर्म अन्तर्राष्ट्रिय लेखापरीक्षण फर्म ‘डिलोइट’ मा आबद्ध छ। ‘डिलोइट’ विश्वको उत्कृष्ट पाँच फर्ममध्ये एक मानिन्छ।