रोल्पामा माओवादीका कार्यकर्ताद्वारा कांग्रेस कार्यकर्तामाथि आक्रमण‚ दुई घाइते
रोल्पाको गंगादेव गाउँपालिकामा नेकपा (माओवादी केन्द्र)का कार्यकर्ताले सोमवार राति नेपाली कांग्रेसका कार्यकर्तालाई आक्रमण गरेको छ। आक्रमणमा परी कांग्रेसका दुई कार्यकर्ता घाइते भएका छन्।
घाइते हुनेमा तरुण दलका वडाध्यक्ष मानबहादुर बुढा मगर र २० वर्षीय कमल बुढा मगर रहेका छन्। उनीहरूमाथि माओवादी केन्द्रका कार्यकर्ताले खुकुरी प्रहार गरेर गम्भीर घाइते बनाएको कांग्रेसका स्थानीय नेता सुनिल वलीले बताए।
मानबहादुरको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि बाँकेको कोहलपुर मेडिकल कलेज लगिएको छ। कमलको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ। घटनापछि प्रहरी नायब उपरीक्षक विनोद घिमिरे नेतृत्वको टोली घटनास्थलमा पुगेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी थमन जिसीले बताए।