मिनीबस र सुमो ठोक्किंदा पाँच जनाको मृत्यु, १८ घाइते
काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका-११ स्थित बीपी राजमार्गमा दुई गाडी एकआपसमा ठोक्किंदा पाँचको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन्।
तीर्थयात्री बोकेर काठमाडौंबाट भारततर्फ जाँदै गरेको यूपी ५८ टी ८१८१ नम्बरको फोर्स गाडी र सिन्धुलीबाट काठमाडौंतर्फ आउँदै गरेको ना.१ज ४२१० नम्बरको टाटासुमो एकआपसमा ठोक्किएका हुन्।
बीपी राजमार्ग अन्तर्गत रोशी गाउँपालिका-११ स्थित बढुबेसीमा दुर्घटना हुँदा टाटासुमोमा सवार पाँच जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हरि खतिवडाले बताए।
सिन्धुलीको कमलामाई नगरपालिका-७ का ३० वर्षीय विक्रम श्रेष्ठ, कमलामाई-४ का ४५ वर्षीय हरिबहादुर बल, सुनकोशी गाउँपालिका-१ की ४४ वर्षीय प्रमिला नेपाली, रामेछापको खाँडादेवी गाउँपालिका-८ की ३० वर्षीया सम्झना भुसाल र उनका छोरा ६ वर्षीय सङ्गीत भुसालको मृत्यु भएको खतिवडाले बताए।
दुर्घटनामा परी १८ जना घाइते भएका छन्। उनीहरूको धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।