‘राम्रो लेख्यो कि, पुरुषले सघाएर लेखेको हो कि भन्ने सोच छ’
नौ जना लेखक महिलाले आफ्नो लेखनमा लैङ्गिक विभेद र असमानताबारे छलफल गरेका छन्।
माओवादी आन्दोलनमा होमिएकी झापाकी तारा राई २०६१ सालमा पक्राउ परिन्। १४ वर्षको उमेरमा उनले डेढ वर्ष जेल सजाय काटिन्। उनले साेही जेल र लडाकु जीवनको अनुभवबारे २०६८ मा पुस्तक लेखिन्- छापामार युवतीको डायरी।
कक्षा ६ सम्म मात्र पढेकी उनलाई ‘यसले कसरी पुस्तक लेखी’ भनेर समाजले प्रश्न उठायो। यसको जवाफ उनले अहिलेसम्म पनि दिंदै आएकी छन्। भन्छिन्, “सामान्य लेखपढ गरेको व्यक्तिले आफ्नो डायरी पनि लेख्न सक्दैन र? पुरुषलाई यही प्रश्न किन गरिंदैन?”
राईले अर्को उपन्यास प्रकाशनको तयारीमा भएको जनकारी दिंदै आफूलाई सावित गर्न भए पनि धेरैभन्दा धेरै लेख्न मन भएको सुनाइन्।
ज्वालामुखी फुटेपछि र धूमिल स्मृति पुस्तककी लेखक शोभा दुलालको अनुभवमा पनि महिलाको लेखनलाई समाजले आधा सत्य मान्ने गरेको छ। “राम्रो लेख्यो कि, पुरुषले सघाएर लेखेको हो कि भन्ने सोच छ,” उनले आफ्नो तीतो अनुभव सुनाउँदै भनिन्, “अझ आफ्नो श्रीमान् पनि साहित्यकार भएपछि झनै कसरी लेखी, कहाँबाट लेखी भनेर शङ्का गर्दा रहेछन्।”
शोभाको लेखनलाई शङ्काको दृष्टिकोणले हेरे जस्तै अर्की लेखक सीमा आभास आफ्नो अनुभवबारे लेख लेख्दा महिलाले समाज भाँडेको आरोप खेप्नुपरेको भन्छिन्। उनले केही वर्षअघि नयाँ पत्रिकामा ‘आमा’ शीर्षकको लेख लेख्दा मानसिक यातना नै सहनुपर्यो। “लेख पढेर नेपाल टेलिभिजनका पत्रकारले नै यस्तो लेख पढे श्रीमती भड्किन्छिन् भन्दै सबैलाई सुनाएछन्,” उनले भनिन्।
समाजको यस्तो दृष्टिकोण चिर्दै महिलाले लेख्नुपर्दा पुरुषलाई भन्दा बढी मिहिनेत र संघर्ष गर्नुपरेको लेखक आन्विका गिरी बताउँछिन्। उनी भन्छिन्, “यस्ता घटनाहरू पन्छाउँदा पन्छाउँदै पनि लेख्न बस्दा दिक्दार हुन्छ। यातना हुन्छ।”
धनगढीकी लेखक सानु चौधरी लेखक भएकै कारण आजसम्म परिवारबाट हेपिनुपरेको छ। १४ वर्षको उमेरमा चार महीनाको बच्चा काखमा हुँदा उनका श्रीमान् बिते। त्यसको आठ वर्षपछि उनको दोस्रो विवाह भयो। जब उनले आफ्नो अनुभवबारे २०७८ फागुन २८ गते रातोपाटीमा ‘विधवाले दोस्रो विवाह गर्नु पाप हो र?’ शीर्षकमा लेख लेखिन्।
त्यसपछि उनका श्रीमान्, फुपूसासू लगायत परिवारका सदस्यको व्यवहार परिवर्तन भयाे। उनले लामो सुस्केरा लिंदै भनिन्, “यसले यातना त दिन्छ, तर मैले जवाफमा मेरो कलमलाई कसैले रोक्न सक्दैन भन्ने गरेकी छु।”
महिला लेखकहरूको लेखन संघर्ष र अनुभवबारे छलफल गर्न र यसमा सशक्तीकरण गराउन साङ्ग्रिला पुस्तक प्रकाशनले बुधबार बेलायती राजदूतावासमा छलफल कार्यक्रम आयोजना गर्यो। यही कार्यक्रममा उपस्थित महिला लेखकहरूले आआफ्ना अनुभव नेपालका लागि बेलायती राजदूत निकोला पोलिटको उपस्थितिमा सुनाए।
नौ जना महिला लेखकले आफ्नो लेखनमा लैङ्गिक विभेद र असमानताबारे छलफल गरे। छलफलमा बेलायती राजदूत पोलिटले असमानता र चुनौतीका बीच पनि आफ्नो कलमलाई नरोक्न सुझाएकी छिन्। “बेलायतमा पनि महिलाहरूलाई किताब छाप्न र लेखनमा चुनौती नभएको हैन। तर, त्यहाँ नयाँ प्रविधिको पहुँच र अन्य अनौपचारिक माध्यमका कारण सहज छ,” उनले लेखकहरूलाई हौसला दिइन्।
छलफल कार्यक्रमकी आयोजक तथा लेखक गिरीका अनुसार, नेपाली भाषाका महिला लेखकहरूको राजदूतहरूसँग छलफल कम हुने भएकाले कार्यक्रम आवश्यक भएको बताइन्। “यसले लेखकहरूलाई अनुभव साट्न, लेखनमा ऊर्जा थप्न र अरूको अनुभव पनि सुन्न सघायो,” गिरी भन्छिन्, “आज राजदूतको कुरा र आफ्नो अनुभव सुनाउने काठमाडौं बाहिरका लेखक पनि भएकाले खुशी लागेको छ।थप कार्यक्रम पनि गर्नेछौं।”
कार्यक्रममा झापाबाट लेखक तारा राई, विराटनगरबाट सीमा आभास, धनगढीबाट सानु चौधरी र काठमाडौंबाट पञ्चकुमारी परियार, मनीषा गौचन, शोभा दुलाल, शकुन्तला जोशी, आन्विका गिरी र लक्ष्मी माली लगायतको सहभागिता थियो।