फेरि थुप्रिन थाल्यो काठमाडौंमा फोहोर
नुवाकोटस्थित सिसडोल ल्यान्डफिल साइट जाने बाटो क्षेत्रका बासिन्दाले आन्दोलन गरेपछि फेरि काठमाडौं उपत्यकामा फोहोर उठ्न छोडेको छ। एक सातादेखि व्यवस्थापन नभएपछि उपत्यकामा फोहोर थुप्रिन थालको हो।
पासाङल्हामु राजमार्ग स्तरोन्नतिमा ढिलासुस्ती र लापरवाही भएको भन्दै स्थानीय बासिन्दा आन्दोलनमा उत्रिएका हुन्। उनीहरूले एक सातादेखि सडक अवरुद्ध गरेका छन्। राजमार्ग कालोपत्रे गर्न माग गर्दै यसअघि पनि स्थानीय बासिन्दाले अवरोध गरेका थिए।
अहिले काठमाडौं उपत्यकाका दुई महानगरपालिका सहित १८ स्थानीय तहको फोहोर नुवाकोटको सिसडोलमा विसर्जन हुँदै आएको छ। उपत्यकामा दैनिक एक हजार मेट्रिक टन फोहोर उत्पादन हुने गर्छ।
सरकारले सहमति अनुसार काम नगरेको भन्दै ल्यान्डफिल साइटका बासिन्दाले आन्दोलन गर्दै आएका छन्। जसले गर्दा उपत्यकाको फोहोर व्यवस्थापनमा समस्या हुँदै आएको छ।
पासाङल्हामु राजमार्ग सडक संघर्ष समितका संयोजक भवनाथ गजुरेलले फोहोर लैजान वैकल्पिक बाटोको व्यवस्था गरिएको बताए। “अहिले हाम्रो कारणले गर्दा उपत्यकाको फोहोर उठ्न नसकेको भन्नु गलत हो,” उनले भने, “वैकल्पिक बाटोबाट गाडी पठाएको तीन दिन भइसक्यो।”
तर, काठमाडौं महानगरपालिकाको वातावरण विभागकी निमित्त प्रमुख सरिता राईले भने सिसडोल क्षेत्रका बासिन्दाको अवरोधका कारण फोहोर उठ्न नसकेको बताइन्। सडक स्तरोन्नतिको विषयलाई लिएर स्थानीय बासिन्दाले तेस्रो पटक अवरोध गरेको उनको भनाइ छ।
“राजमार्ग बनाउने जिम्मा सडक विभागको हो। त्यसमा शान्ति सुरक्षा दिएर फोहोर फाल्ने काम हाम्रो हो,” राईले भनिन्, “स्थानीय बासिन्दा आन्दोलनमा छन्। हामी समन्वयको प्रयास गरिरहेका छौं।”
ठेकेदार कम्पनीले राम्रोसँग काम नगर्दा फोहोर व्यवस्थापनमा समस्या भइरहेको उनले बताइन्। शैलुङ कन्सट्रक्सनले दुई वर्षभित्र रागमार्गको स्तरोन्नतिको काम सक्ने गरी २०७१ जेठ ५ मा ठेक्का सम्झौता गरेको थियो। तर, अहिलेसम्म काम सम्पन्न भएको छैन। जसले गर्दा स्थानीय बासिन्दा आन्दोलनमा उत्रिने गरेका छन्।