नेपाल प्रहरीको महानिरीक्षकमा धीरजप्रताप सिंह
सरकारले नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) धीरजप्रताप सिंहलाई महानिरीक्षकमा बढुवा गरेको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सिंहलाई महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडाले हिमालखबरलाई बताए। गृह मन्त्रालयको प्रस्तावमा एआईजी सिंहलाई महानिरीक्षकमा बढुवा गरिएको हो।
प्रहरी महानिरीक्षक शैलेश थापा क्षत्रीले अवकाश पाएका छन्। उनले अवकाश पाएपछि बसेको मन्त्रिपरिषद् बैठकले सिंहलाई महानिरीक्षक बनाएको हो।
महानिरीक्षकको दौडमा विश्वराज पोखरेल, सहकुलबहादुर थापा, धीरजप्रताप सिंह र रवीन्द्रबहादुर धानुक थिए। वरिष्ठताका आधारमा उनलाई महानिरीक्षक नियुक्त गरिएको मन्त्री खतिवडाले बताए।
उनी २०४९ चैतमा प्रहरी सेवामा प्रवेश गरेका थिए। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा कार्यरत सिंह गत चैत ७ गते एआईजीमा बढुवा भएका थिए।