श्रमिक वर्गको कामलाई मर्यादित बनाए मात्रै उत्पादन वृद्धि गर्न सकिन्छः प्रधानमन्त्री देउवा
प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको आर्थिक सामाजिक क्षेत्रको महत्त्वपूर्ण चालक शक्तिका रूपमा रहेको श्रमिक वर्गको काम र जीवनलाई मर्यादित बनाएर मात्रै उत्पादन र उत्पादकत्व अभिवृद्धि गर्न सकिने बताएका छन्।
१३३औं अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा आज शुभकामना व्यक्त गर्दै उनले श्रमिकहरूको एकता र सङ्घर्षबाट नै परिवर्तन र उपलब्धि हासिल गर्न सम्भव भएको बताएका छन्। नेपाली जनताको बलिदानीपूर्ण सङ्घर्षबाट प्राप्त लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था ल्याउन र हरेक लोकतन्त्र प्राप्तिको आन्दोलनमा श्रमिक वर्गको महत्त्वपूर्ण योगदान रहेको प्रधानमन्त्री देउवाको भनाइ छ।
यस वर्ष नेपाल सरकारले ‘मर्यादित श्रम, सुरक्षित रोजगारः विकास र समृद्धिको आधार’ भन्ने मूल नाराका साथ मे दिवस मनाउँदै छ। निकृष्ट प्रकारको श्रम अभ्यासलाई अन्त्य गर्न श्रमिकको सङ्गठित हुन पाउने अधिकार र सामूहिक सौदाबाजी गर्न पाउने अधिकारलाई संविधानले मौलिक हकका रूपमा सुनिश्चित गरेको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले सरकार श्रमिकको श्रमको उच्च सम्मान गर्दै उनीहरूको संविधानप्रदत्त अधिकारको सुनिश्चितता गर्न सदैव प्रतिबद्ध रहेको बताएका छन्।
यस्तै‚ श्रमिकका लागि सीपमूलक तालीम, व्यावहारिक शिक्षा र वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि आवश्यकता अनुसार तालीमको व्यवस्थालाई सरकारले अझ प्रभावकारी बनाउँदै लैजाने प्रधानमन्त्री देउवाले प्रतिबद्धता व्यक्त गरेका छन्। यस्तै‚ समुन्नत मुलुक बनाउने अभियानमा देशभरका श्रमिकहरूको योगदानको सम्मान गर्दै श्रमिक दिवसका अवसरमा आगामी दिनमा अझ सशक्त रूपमा अघि बढ्न सबैमा अनुरोध पनि गरेका छन्।