भारतका चर्चित पत्रकार रवीश कुमार नेपाल आउने
भारतका चर्चित पत्रकार रवीश कुमार सञ्चारकर्मीसँग अन्तरक्रिया गर्न नेपाल आउन लागेका छन्।
हिमालमिडिया प्रालिले यही वैशाख २४ गते काठमाडौंमा आयोजना गर्न लागेको ‘हिमाल मिडिया मेला’ मा सहभागिताका लागि उनी नेपाल आउन लागेका हुन्। उनले मिडिया मेलामा विद्वत् प्रवचन दिनेछन्।
मिडिया मेलामा सञ्चारजगत्का अनेक आयाम र चुनौतीबारे अन्तरक्रिया हुनेछ। जसमा मिथ्या समाचार, निर्वाचन र मिडिया साक्षरता, नैतिक र जवाफदेही पत्रकारिता, पत्रकारिताको अर्थ-राजनीति र रवीश कुमारसँग प्रश्नोत्तर सेसन चल्नेछ। यी सेसनमा नेपाली पत्रकारले अन्तरक्रिया गर्नेछन्।
मेलामा दुई सयभन्दा बढी सञ्चारकर्मी सहभागी हुने हिमालमिडियाले जनाएको छ। मेला आयोजक समितिका अध्यक्ष कुन्द दीक्षितका अनुसार, हिमालमिडिया २५ वर्ष पुग्न लागेको अवसरमा यो कार्यक्रम आयोजना गर्न लागिएको हो। “विश्व प्रेस स्वतन्त्रता दिवसको आसपासमा आयोजना हुन लागेको यो मेलामा पत्रकारिता जगत्का जल्दाबल्दा विषयमा बहस हुनेछ,” दीक्षितले भने।
पत्रकार रवीश कुमारले सन् २०१९ मा रामोन म्यागसेसे अवार्ड, सन् २०१३ र २०१७ मा रामनाथ गोयन्का एक्सलेन्स इन जर्नालिज्म अवार्ड र सन् २०१६ को रेड इंक अवार्ड लगायत विभिन्न पुरस्कार र सम्मान प्राप्त गरेका छन्। उनकाे द फ्री भोइस: डेमोक्रेसी, कल्चर एन्ड द नेशन, ए सिटी ह्यापेन्स इन लभ पुस्तक प्रकाशित छन्। एनडीटीभीका वरिष्ठ कार्यकारी सम्पादक कुमारको ‘प्राइम टाइम’ कार्यक्रम चर्चित छ।