आर्थिक वृद्धि ५.८ प्रतिशत हुने तथ्याङ्क विभागको प्रक्षेपण
केन्द्रीय तथ्याङ्क विभागले यो वर्ष नेपालको अर्थतन्त्र ५.८ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरेको छ।
विभागले बिहीबार राष्ट्रिय लेखा तथ्याङ्क सार्वजनिक गर्दै चालू आर्थिक वर्ष २०७८/७९ मा नेपालको वृद्धिदर सन्तोषजनक हुने अनुमान गरेको हो। यो आर्थिक वर्ष सकिन तीन महीना बाँकी हुँदा नै विभागले कोभिड-१९ को महामारीको प्रभाव नपर्ने तथा अर्थतन्त्र अहिलेकै गतिमा सञ्चालन हुने अनुमानका आधारमा यस्तो लक्ष्य सार्वजनिक गरेको हो।
यद्यपि, यो सरकारले लक्ष्य राखेको वृद्धिदरभन्दा कम हो। चालू आर्थिक वर्षको बजेट मार्फत सरकारले यो वर्ष सात प्रतिशतको आर्थिक वृद्धि हुने लक्ष्य सार्वजनिक गरेको थियो।
विभागले बहुपक्षीय ऋणदाता विश्व ब्यांक, एशियाली विकास ब्यांक तथा अन्तर्राष्ट्रिय मुद्रा कोषले गरेको आर्थिक वृद्धिको अनुमानभन्दा बढी वृद्धिदर हासिल हुने आँकडा सार्वजनिक गरेको छ। विश्व ब्यांकले चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ३.७ प्रतिशत रहने अनुमान गरेको थियो।
त्यस्तै, एशियाली विकास ब्यांकले ३.९ प्रतिशत र अन्तर्राष्ट्रिय मुद्रा कोषले ४.१ प्रतिशतको वृद्धिदर हासिल हुने अनुमान गरेका थिए।
विभागका अनुसार, गत आर्थिक वर्ष २०७७/७८ मा नेपालको आर्थिक वृद्धिदर ४.२५ प्रतिशत रहेको छ। विभागले शुरूमा ४.०१ प्रतिशतको आर्थिक वृद्धिदर हासिल हुने अनुमान सार्वजनिक गरेको थियो।
विभागका अनुसार, नेपालको अर्थतन्त्रको आकार चालु मूल्यअनुसार उपभोक्ताको मूल्यमा रु.४८ खर्ब ५२ अर्ब पुगेको छ।