चुनावी विवादमा नेत्रविक्रम चन्दले गरे हेमन्तप्रकाश वली र धर्मेन्द्र बास्तोलालाई बर्खास्त
स्थानीय चुनावमा सहभागिताको विषयलाई लिएर भएको विवादपछि नेकपाका महासचिव नेत्रविक्रम चन्दले सचिवालय सदस्य हेमन्तप्रकाश वली र धर्मेन्द्र बास्तोलालाई बर्खास्त गरेका छन्।
स्थानीय चुनावमा सहभागी हुने कि नहुने भन्ने विषयमा नेकपाभित्र विवाद उत्पन्न भएको थियो। महासचिव चन्दको पक्षले स्थानीय चुनावमा भाग लिने निर्णय गरेको थियो। वली र बास्तोला सहितका नेताले चुनावमा भाग लिन नहुने मत राखेका थिए।
यही विवादबीच नेकपाले स्थानीय तहमा उम्मेदवारी दिएको छ। यसको विरोध गर्दै वली र बास्तोलाले उम्मेदवारी फिर्ता लिन स्थानीय नेतालाई आह्वान गरेका थिए।
त्यसैलाई लिएर महासचिव चन्दले दुवै नेतालाई बर्खास्त गरेका हुन्। चन्दले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सुदर्शनजी (वली) र कञ्चनजी (बास्तोला) ले मच्चाएको वितण्डा एवं कञ्चनजीले अलग केन्द्रका रूपमा वक्तव्य निकालेपछि सचिवालयका कमरेडहरूसँग छलफल गरियो। सबैतिरका सुझाव एवं सुदर्शन र कञ्चनका गल्तीहरूको प्रकृति हेर्दा उहाँहरू निकै पर पुगिसकेको, विभिन्न बैठक एवं भेला समेत गर्दै हिंडेकाले पार्टी विधान अनुसार दुवै जनालाई अनिश्चित समयका लागि सम्पूर्ण जिम्मेवारीबाट मुक्त गरिएको जानकारी गराइन्छ।’