भन्सार अजेन्टको परीक्षा वैशाख १७ गते हुने
स्थानीय तहको निर्वाचनका कारण अलमलमा परेको भन्सार अजेन्टको परीक्षा वैशाख १७ गते नै हुने भएको छ।
भन्सार विभागले वैशाख १७ गते परीक्षा हुने सूचना प्रकाशित गरेको थियो। तर, स्थानीय तहको निर्वाचनका लागि आचारसंहिता लागू भएकाले अलमल परेको थियो।
यसका लागि भन्सार विभागले निर्वाचन आयोगसँग सहमति मागेको थियो। भन्सार विभागले तोकेकै समयमा परीक्षा गर्न निर्वाचन आयोगले सहमति दिएको छ।
निर्वाचन आयोगले वैशाख ९ गते लोक सेवा आयोगलाई पठाएको पत्रमा तोकिएको समयमै परीक्षा गर्न सहमति दिएको छ। पत्रमा भनिएको छ, ‘नतीजा प्रकाशनको कार्य निर्वाचन आचारसंहिता, २०७८ लागू हुने अवधि समाप्त भएपश्चात् गर्ने गरी लोक सेवा आयोगबाट परीक्षा सञ्चालन गर्न सहमति प्रदान गर्ने निर्णय भएको ब्यहोरा अनुरोध छ।’
आयोगले ६६० जना भन्सार अजेन्टका लागि २०७७ चैत १६ गते दरखास्त आह्वान गरेको थियो। विभिन्न कारण देखाउँदै अहिलेसम्म स्थगित हुँदै आएको थियो।