एमालेमा प्रवेश गर्दै पूर्व राजदूत लक्की शेर्पा
पूर्व राजदूत लक्की शेर्पा नेकपा (एमाले) मा प्रवेश गर्न लागेकी छन्।
एमाले नेतृत्वसँगको छलफलपछि पूर्व राजदूत शेर्पा पार्टी प्रवेश गर्न लागेकी हुन्। आज ललितपुरको च्यासलस्थित नयाँ पार्टी कार्यालयमा आयोजना हुने कार्यक्रममा उनी एमाले प्रवेश गर्ने भएकी छन्।
पूर्व राजदूत शेर्पाले आजै एमालेमा प्रवेश गर्न लागेको बताइन्। “माओवादी संस्थागत रूपमा चलेन, त्यसैले एमालेमा प्रवेश गर्न लागेकी हुँ,” उनले भनिन्।
नेपाल आदिवासी जनजाति महासंघको पदाधिकारी भएर काम गरेकी उनी पहिलो संविधानसभामा एमालेबाट सभासद् बनेकी थिइन्। चार वर्ष एमालेबाट समानुपातिक सभासद् बनेकी उनी त्यसपछि रामचन्द्र झासँगै माओवादीमा प्रवेश गरेकी थिइन्।
दोस्रो संविधानसभामा माओवादीको समानुपातिक उम्मेदवार थिइन्। तर, माओवादीको मत कम आएकाले सभासद् बन्न सकिनन्। त्यसपछि माओवादीको कोटामा अस्ट्रेलियाका लागि नेपाली राजदूत बनेकी थिइन्।
मानव बेचबिखनको आरोप लागेपछि उनले २०७५ माघमा राजदूतबाट राजीनामा दिएकी थिइन्।