डब्लूएचओका महानिर्देशकलाई दोस्रो कार्यकालका लागि नेपालको समर्थन
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडा र विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का महानिर्देशक डा. टेड्रोस एडहानोम गेहब्रेयससबीच भेटवार्ता भएको छ।
स्वास्थ्य मन्त्रीको निमन्त्रणामा नेपालको तीनदिने भ्रमणका लागि काठमाडौं आइपुगेका डा. गेहब्रेयससले बिहीबार स्वास्थ्य मन्त्रालयमा भएको भेटवार्तामा डब्लूएचओको चुनावका विषयमा पनि छलफल गरेका छन्। अर्को महीना हुने ७५औं विश्व स्वास्थ्य सभाबाट नयाँ महानिर्देशक चुनिनेछन्।
यसका लागि डब्लूएचओको कार्यकारी बोर्डले डा. गेहब्रेयससलाई नै दोस्रो कार्यकालका लागि मनोनीत गरेको छ। यसमा नेपालका तर्फबाट स्वास्थ्य मन्त्री खतिवडाले समर्थन जनाएका छन्।
उनको भ्रमणका अवसरमा नेपालले हेटौंडास्थित कीटजन्य रोगको अध्ययन तथा तालीम केन्द्रलाई दक्षिण-पूर्वी एशिया क्षेत्र (सिरो) स्तरीय क्षेत्रीय तालीम र अनुसन्धान केन्द्रका रूपमा विकास गर्न मद्दतको अपेक्षा गरेको छ। त्यस्तै, बाल तथा स्त्रीरोग अन्कोलोजीमा केन्द्रित मातृ र बाल स्वास्थ्य सहकार्य केन्द्रको स्थापना गर्न पनि मन्त्री खतिवडाले आग्रह गरेका छन्।
तीनदिने भ्रमणमा डा. गेहब्रेयससले पाटन माध्यमिक विद्यालयमा पुगेर ‘टाइफाइड विरुद्धको खोप’ बारे विद्यार्थीसँग छलफल गर्ने भएका छन्। यस्तै, पाटन दरबार क्षेत्र र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुको भ्रमण गर्ने कार्यक्रम छ।