पहाडी क्षेत्रमा वर्षाको सम्भावना, कस्तो छ आगामी तीन दिनको मौसम?
पश्चिमी वायुको प्रभावले पहाडी भूभागमा मेघ गर्जन सहित वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विभागको मौसम पूर्वानुमान महाशाखाले बुधबार बिहान मौसमी बुलेटिन जारी गर्दै देशका अधिकांश भूभागमा आंशिक बदली रहेको जनाएको छ। पश्चिमी वायुसँगै स्थानीय वायुको सामान्य प्रभावले पहाडी भूभागमा वर्षाको सम्भावना रहेको महाशाखाको आकलन छ।
आज दिउँसो प्रदेश १, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ। प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मेघ गर्जन र चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ।
त्यस्तै, आज राति प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यता सफा रहनेछ। महाशाखाका अनुसार, प्रदेश १ को पहाडी भूभागको केही स्थानमा मेघ गर्जन र चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ।
बिहीबार देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही अन्य भूभागमा आंशिक बदली रहनेछ। पहाडी भूभागका केही स्थानमा मेघ गर्जन र चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ।
यसै गरी शुक्रबार देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ लगायत देशका पहाडी भूभागका केही स्थानमा मेघ गर्जन र चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाको प्रक्षेपण छ।