फागुनमा मूल्यवृद्धि ७.१४ प्रतिशत पुग्यो, विदेशी विनिमयको सञ्चिति थप घट्यो
बाह्य क्षेत्र सन्तुलनमा चाप खेपिरहेको मुलुकमा उपभोक्ता मूल्यवृद्धिको दबाब पनि बढ्दै गएको देखिएको छ।
नेपाल राष्ट्र ब्यांकले मंगलबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनका अनुसार, गत फागुन महीनामा वार्षिक बिन्दुगत उपभोक्ता मूल्यवृद्धि ७.१४ प्रतिशत पुगेको छ। गत वर्षको यही महीनामा यस्तो मूल्यवृद्धि दर तीन प्रतिशतमा सीमित थियो। गत पुसमा मूल्यवृद्धि दर करीब ६ प्रतिशत थियो।
फागुनमा खाद्य तथा पेय पदार्थको मूल्यवृद्धि दर ७.१५ प्रतिशत छ। त्यसै गरी गैर खाद्य तथा सेवा समूहको मूल्यवृद्धि दर ६.८४ प्रतिशत छ।
खाद्य तथा पेय पदार्थ समूहको मूल्य बढ्दा न्यून आय भएका निम्न र निम्न मध्यम वर्गका सर्वसाधारणको दैनिकी थप कष्टकर हुन पुग्छ। सबैभन्दा धेरै घ्यूतेलको मूल्य २६.३४ प्रतिशत, तरकारीको मूल्य १४ प्रतिशत, दूध र अण्डाको मूल्य ११.३ प्रतिशत तथा दाल र गेडागुडीको मूल्य १०.३ प्रतिशतले बढेको छ। यो अवधिमा यातायातको मूल्य १६.२७ प्रतिशतले बढेको छ।
विश्वव्यापी आपूर्ति प्रणालीको अवरोध, इन्धनको मूल्यवृद्धि तथा बढेको मागका कारण अधिकांश वस्तुको मूल्यमा चाप परिरहेको छ। राष्ट्र ब्यांकले यो वर्ष मूल्यवृद्धिलाई ६ प्रतिशतको सीमामा राख्ने लक्ष्य राखे पनि मूल्यवृद्धि दरले सीमा नाघ्ने देखिएको छ।
राष्ट्र ब्यांकका अनुसार, चालू आर्थिक वर्षको पहिलो आठ महीना (फागुनसम्म) मा देशले वैदेशिक व्यापारमा रु.११ खर्ब ६१ अर्ब घाटा बेहोरेको छ। यो गत वर्ष यही अवधिको तुलनामा ३४.५ प्रतिशत धेरै हो। गत साउनदेखि फागुनसम्म नेपालले रु.१ खर्ब ४८ अर्बको वस्तु निर्यात गरेकोमा रु.१३ खर्ब ९ अर्बको आयात गरेको छ।
यो अवधिमा नेपालले रु.६ खर्ब ३१ अर्ब १९ करोड रेमिटेन्स भित्र्याएको छ। यो गत वर्षको यही अवधिका तुलनामा १.७ प्रतिशत थोरै हो।
माघ महीनासम्म मासिक औसत रेमिटेन्स करीब रु.७७ अर्ब १६ करोडको मात्र देखिए पनि फागुनमा भने रेमिटेन्स बढेको देखिएको छ। फागुनमा करीब रु.९१ अर्ब रेमिटेन्स भित्रिएको थियो।
केन्द्रीय ब्यांकका अनुसार, फागुनसम्ममा देशको भित्रिने र बाहिरिने रकमबीचको अन्तर (शोधनान्तर स्थिति) रु.दुई खर्ब ५८ अर्ब ६४ करोडले घाटामा छ। यो गत वर्षको यही अवधिसम्म रु.६८ अर्ब एक करोडले बचतमा थियो ।
फागुनसम्म आइपुग्दा विदेशी विनिमयको सञ्चिति थप ओरालो लागेको देखिएको छ। राष्ट्र ब्यांकका अनुसार, फागुनसम्ममा विदेशी मुद्राको सञ्चिति नौ अर्ब ५८ करोड डलरमा सीमित भएको छ। यो माघको तुलनामा १७ करोड डलर थोरै हो। यो सञ्चितिले ६.७ महीनाको वस्तु र सेवाको आयात थेग्छ।
केन्द्रीय ब्यांकका अनुसार, फागुनसम्ममा चालू खाता घाटा रु.चार खर्ब ६३ अर्ब पुगेको छ। यो कुल गार्हस्थ्य उत्पादनको तुलनामा करीब ११ प्रतिशत हो। कुल गार्हस्थ्य उत्पादनको तुलनामा चालू खाता घाटा आठ प्रतिशत नाघे जोखिमपूर्ण मानिन्छ। आयात धेरै तर निर्यात कमजोर हुँदा चालू खाताको घाटा बढेको हो।