सरकारलाई केपी ओलीको प्रश्न–चुच्चे नक्शा खै?
नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धनले सत्ताका लागि राष्ट्रियता र भौगोलिक अखण्डतामाथि सौदाबाजी गरेको आरोप लगाएका छन्।
नयाँ दिल्लीस्थित नेपाली दूतावासमा लिम्पियाधुरा सहितको नेपालको नक्शा नराखेको सन्दर्भ उल्लेख गर्दै ओलीले यस्तो आरोप लगाएका हुन्। नेपाल बुद्धिजीवी परिषद्को राष्ट्रिय अधिवेशनको आइतबार काठमाडौंमा उद्घाटन गर्दै उनले भने, “प्रधानमन्त्री शेरबहादुर देउवा र गठबन्धनसँग सोध्न चाहन्छु, चुच्चे नक्शा खै? भौगोलिक अखण्डतासँग खेलबाड गर्न पाइन्छ?”
पूर्व प्रधानमन्त्री ओलीले कुनै पनि सरकारले देशको भूगोल वा नक्शा थाहा छैन भन्न नमिल्ने उल्लेख गरे। उनले भने, “लिपुलेक, लिम्पियाधुरा, कालापानी थाहा छैन भने यो सरकारलाई के चाहिं थाहा छ?”
ओली प्रधानमन्त्री भएका वेला नेपाल सरकारले जारी गरेको लिम्पियाधुरा सहितको नेपालको नक्शा ३१ जेठ २०७७ मा संघीय संसद्ले सर्वसम्मतिबाट अनुमोदन गरेको थियो। त्यसपछि दिल्लीस्थित नेपाली दूतावासमा त्यही नक्शा प्रयोग हुँदै आएको थियो।
प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा दूतावासमा चुच्चे नक्शा प्रयोग नगरेको सार्वजनिक भएपछि यसको विरोध भएको हो।
भारतका लागि नेपालका पूर्व राजदूत नीलाम्बर आचार्यले भने आफू त्यहाँ रहँदासम्म चुच्चे नक्शा नै प्रयोग भएको उल्लेख गरेका छन्। आइतबार ट्वीटरमा उनले लेखेका छन्, “लिम्पियाधुरा सहितको नयाँ नक्शा राखिएको थियो त। अहिलेको अवस्था भने मैले भन्न सक्ने कुरा भएन।”