भारत भ्रमण सकेर स्वदेश फर्किँदै प्रधानमन्त्री देउवा
तीन दिने भारत भ्रमण पूरा गरेर प्रधानमन्त्री शेरबहादुर देउवा आज स्वदेश फर्किँदै छन्।
भारत भ्रमणका क्रममा आज दिउँसो प्रधानमन्त्री देउवा बनारसमा आयोजना हुने कार्यक्रममा सहभागी हुनेछ। हिन्दू धर्मावलम्बीको आस्थाको केन्द्र बनारसमा देउवाले पूजापाठ गर्ने कार्यक्रम छ।
बनारसमा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले प्रधानमन्त्री देउवालाई स्वागत गर्ने कार्यक्रम छ। देउवाले त्यहाँका विभिन्न धार्मिक स्थलहरूको दर्शन गर्नेछन्।
प्रधानमन्त्री देउवा अपराह्न ४ बजे बनारसबाट दिल्ली फर्किनेछन्। आजै ४ः१५ बजे दिल्लीबाट काठमाडौं फर्किने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
तीनदिने औपचारिक भ्रमणका लागि प्रधानमन्त्री देउवाको नेतृत्वमा ५० सदस्यीय नेपाली टोली शुक्रबार दिल्ली पुगेको थियो।