सांसद साहमाथि एमालेले आक्रमण गरेको जसपाको आरोप
जनता समाजवादी पार्टी (जसपा) ले सांसद प्रमोद साहमाथि नेकपा (एमाले) कार्यकर्ताले आक्रमण गरेको आरोप लगाउँदै कारबाहीको माग गरेको छ।
शनिबार सर्लाहीको ईश्वरपुर नगरपालिकामा सडक विस्तारको विषयलाई लिएर झडप भएको थियो। झडपमा सांसद साह गम्भीर घाइते भएका छन्। उनको टाउकोमा २५ टाँका लगाइएको छ।
प्रतिनिधि सभामा प्रमुख सचेतक समेत रहेका साहलाई एमाले कार्यकर्ताले आक्रमण गरेको जसपा केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीले जनाएका छन्।
उनले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘सर्लाहीको ईश्वरपुर नगरपालिकामा नेकपा (एमाले) का कार्यकर्ताले जनता समाजवादी पार्टी, नेपालका केन्द्रीय सदस्य एवं जसपा नेपाल संसदीय दलका प्रमुख सचेतक मा. प्रमोद साहलाई साङ्घातिक हमला गरी गम्भीर घाइते बनाएका छन्।’
सांसद साहमाथि सुनियोजित ढङ्गबाट आक्रमण भएको जसपाको आरोप छ। ‘पार्टी कामको सिलसिलामा गृह जिल्ला पुग्नुभएका मा. साहमाथि सुनियोजित ढङ्गबाट आक्रमण गरी घटना घटाइ उहाँ लगायत दर्जनौँ कार्यकर्ताहरू घाइते हुने गरी भएको निन्दनीय कार्यको जनता समाजवादी पार्टी, नेपाल घोर भर्त्सना गर्दछ,’ विज्ञप्तिमा भनिएको छ, ‘यस्ता घृणित र आपराधिक क्रियाकलाप बन्द नगरे यसबाट उत्पन्न हुने परिणामको जिम्मेवार स्वयं नेकपा (एमाले) हुनेछ।’