उम्मेदवार छनोट गर्न एमालेका ६ मापदण्ड
नेकपा (एमाले) ले स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोटको मापदण्ड तयार गरेको छ।
बिहीबार सम्पन्न एमाले केन्द्रीय कमिटी बैठकले उम्मेदवार छनोटका लागि ६ वटा मापदण्ड तोकेको हो। उम्मेदवार छनोट गर्दा पार्टी, नीति र कार्यक्रमप्रति प्रतिबद्धता, निर्वाचित जनप्रतिनिधिको कामको मूल्याङ्कन, लोकप्रियता र विजयको सुनिश्चितता, आन्दोलनमा योगदान र पार्टीप्रतिको निष्ठा, कार्यक्षमता विकास र सुशासनप्रतिको दृष्टिकोण तथा सन्तुलन र समावेशितालाई आधार बनाउन निर्देशन दिएको छ।
एमाले केन्द्रीय कमिटी बैठकले मातहतका निकायलाई ३० चैतसम्म उम्मेदवारको सिफारिश गर्न समय दिएको प्रचार विभागका उपप्रमुख विष्णु रिजालले बताए। कम्तीमा एक महिला सहित तीन जनाको नाम सिफारिश गर्न भनिएको छ।
एमालेमा वडाध्यक्षका लागि वडा र गाउँ तथा नगर कमिटीले जिल्ला कमिटी समक्ष सिफारिश गर्ने व्यवस्था गरिएको छ। त्यस्तै, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिका मेयर तथा उपमेयरका लागि गाउँ तथा नगर कमिटी र जिल्ला कमिटीले प्रदेश कमिटीलाई सफारिश गर्ने व्यवस्था गरिएको छ।
यससँगै उपमहानगर र महानगरका मेयर तथा उपमेयरका लागि नगर कमिटी, जिल्ला कमिटी र प्रदेश कमिटीले केन्द्रीय कमिटीलाई सिफारिश गर्नुपर्ने व्यवस्था गरिएको उनले बताए।
स्थानीय चुनावका लागि ९ वैशाखमा एमाले केन्द्रले घोषणापत्र सार्वजनिक गर्ने भएको छ। त्यही दिन सबै स्थानीय तहले प्रतिबद्धतापत्र सार्वजनिक गर्ने निर्णय गरेको छ।
घोषणापत्र निर्माणका लागि वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको संयोजकत्वमा नौ सदस्यीय मस्यौदा कार्यदल गठन गरेको छ। जसमा युवराज ज्ञवाली, प्रदीप ज्ञवाली, विष्णु रिमाल, देवेन्द्र दाहाल, प्रभु साह, मनोजजंग थापा, युवराज खतिवडा, प्रभा बराल, दिनेशचन्द्र देवकोटा र सुशील ज्ञवाली सदस्य छन्। घोषणपत्रको मस्यौदा ३० चैतसम्म केन्द्रीय कमिटीलाई बुझाउन समय दिइएको छ।