लोकतान्त्रिक आन्दोलनको विरासत एमालेसँगै छ: केपी ओली
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्ट मात्रै नभएर लोकतान्त्रिक आन्दोलनको विरासत पनि एमालेसँगै भएको दाबी गरेका छन्।
काठमाडौंमा बुधबारदेखि प्रारम्भ भएको एमाले केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले लोकतान्त्रिक आन्दोलनको मूलधार एमाले भएको जिकिर गरे। “नेपालको लोकतान्त्रिक आन्दोलनको मुख्य शक्ति हौं, मूलधार हौं,” अध्यक्ष ओलीले भने, “लोकतान्त्रिक इतिहासको विरासत हामीसँग छ।”
टंकप्रसाद आचार्यले १९९१ सालमा स्थापना गरेको प्रजा परिषद्का नेताहरू पनि एमालेमा संगठित भएकाले लोकतान्त्रिक आन्दोलनको मूलधार पनि एमाले भएको उनको भनाइ थियो। “१९९१ सालमा स्थापना भएको प्रजा परिषद् पनि हाम्रै पार्टीमा समाहित भएको छ,” ओलीले भने, “नेपाली कम्युनिष्ट आन्दोलनको मात्रै होइन, नेपाली लोकतान्त्रिक आन्दोलनको संगठित इतिहास हामीसँग छ। त्यसैले एमाले नै देशको सबैभन्दा पुराना र मूलधार बोकेको पार्टी हो।”
केही व्यक्तिले वामपन्थी दलहरूमध्ये एमाले ठूलो पार्टी भन्ने गरेको कुरा गलत भएको जिकिर गर्दै ओलीले एमाले देशकै ठूलो पार्टी भएको दाबी गरे। पार्टी सदस्यका हिसाबले पनि एमाले ठूलो पार्टी बनेको उनको भनाइ थियो।
अहिले एमालेका संगठित सदस्य ११ लाख पुगेको ओलीले सुनाए। चितवनमा सम्पन्न महाधिवेशनपछि सदस्य लिनेको सङ्ख्या बढेको उनको भनाइ थियो।
बुधबारदेखि शुरू भएको एमाले केन्द्रीय कमिटी बैठक दुई दिनसम्म चल्नेछ। बैठकमा ११ वटा विषयमा छलफल हुने कार्यसूची तय गरिएको छ।
जसमा सातै प्रदेशको रिपोर्टिङ, राजनीतिक प्रतिवेदन, विभागहरूको गठन, स्थानीय निर्वाचनको मापदण्ड र सिफारिश प्रक्रिया, घोषणापत्र तयारी, पार्टीको वार्षिक क्यालेन्डरको तयारी, पार्टी स्थापना दिवस, निर्वाचनमा केन्द्रीय नेतृत्वको भूमिका, सचिवालयको बैठकका निर्णयहरूको अनुमोदन, लेखा तथा आर्थिक व्यवस्थापन विनियम र विविध विषय रहेका छन्।