यस्ता छन् एमाले केन्द्रीय कमिटी बैठकका अजेन्डा
नेकपा (एमाले) केन्द्रीय कमिटीको बैठक आज काठमाडौंको बबरमहलस्थित ब्याङ्क्वेटमा बस्दै छ।
स्थानीय चुनावलाई केन्द्रित गरेर बस्न लागेको बैठकका लागि विभिन्न अजेन्डा तय गरिएका छन्। सोमबार बसेको एमाले पोलिटब्यूरो बैठकका निर्णय सहितका अजेन्डा केन्द्रीय कमिटीको बैठकका लागि तय गरिएका छन्।
एमाले केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालका अनुसार, स्थानीय तहको चुनाव मुख्य अजेन्डा रहेको छ। केन्द्रीय कमिटी बैैठकले स्थानीय तहको चुनावको तयारीका विषयमा छलफल गर्ने भएको छ।
यससँगै चुनावका लागि उम्मेदवार छनोट मापदण्डमा पनि छलफल हुने भएको छ। पोलिटब्यूरो बैठकले उम्मेदवार छनोट मापदण्ड पारित गरेको थियो।
त्यस्तै, एमालेको स्थानीय चुनावका लागि घोषणापत्र पनि तयार हुने भएको छ। त्यस विषयमा पनि केन्द्रीय कमिटी बैठकमा छलफल हुने उनले बताए।
सातै प्रदेशका एमाले अध्यक्षहरूले रिपोर्टिङ गर्नेछन्। उनीहरूको रिपोर्टिङमाथि पनि छलफल हुनेछ।
यसका अतिरिक्त अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन र महासचिव शंकर पोखरेलले सांगठनिक प्रतिवेदन पेश गर्नेछन्।
यस्तै, एमाले प्रवेश गरेका व्यक्तिहरूलाई जिम्मेवारी दिने विषयमा पनि छलफल हुने भएको छ। एमाले केन्द्रीय कमिटी बैठक बिहीबारसम्म चल्नेछ।