मूल्यवृद्धि ६ प्रतिशत, आयातको वृद्धिदर केही मत्थर
माघमा पनि उपभोक्ता मूल्यवृद्धि दर उच्च नै रहेको तथ्याङ्क नेपाल राष्ट्र ब्यांकले सार्वजनिक गरेको छ।
शुक्रबार सार्वजनिक गरिएको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनका अनुसार, माघमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फिति दर ५.९७ प्रतिशत छ। गत वर्षको यही अवधिमा यस्तो मुद्रास्फिति दर २.७० प्रतिशत मात्रै थियो।
गत मंसीरमा उपभोक्ता मूल्यवृद्धि दर ७.११ प्रतिशत पुगेको थियो। पुसमा यो केही मत्थर हुँदै ५.६५ प्रतिशतमा सीमित भएको थियो। माघमा फेरि करीब ६ प्रतिशतको हाराहारीमा उक्लिएको छ।
चालु आर्थिक वर्षको मौद्रिक नीतिले यो वर्ष मूल्यवृद्धि दर ६.५ प्रतिशतमा सीमित राख्ने लक्ष्य सार्वजनिक गरेको छ। तर, संसारभरि वस्तुको मूल्यमा आएको बढोत्तरीका कारण मूल्यवृद्धि दर सीमामा राख्न कठिन पर्ने राष्ट्र ब्यांकका अधिकारी बताउँछन्।
पछिल्ला वर्षमा मूल्यवृद्धि दर सामान्य रहँदै आएको थियो। तर, अब फेरि उच्च मूल्यवृद्धि शुरू हुन लागेको अनुमान गरिएको छ।
माघमा खाद्य पदार्थको मूल्यवृद्धि दर ६ प्रतिशत पुगेको छ। खाद्य पदार्थको मूल्य बढ्दा न्यून आय समूहका विपन्न नागरिक बढी मर्कामा पर्छन्। सबैभन्दा धेरै घ्युतेलको मूल्य करीब २१ प्रतिशत र दाल गेडागुडीको मूल्य करीब १४ प्रतिशतले बढेको छ।
राष्ट्र ब्यांकका अनुसार, अर्थतन्त्रको बाह्य क्षेत्रको चुनौती यथावत रहेको देखिएको छ। माघसम्म देशको शोधनान्तर घाटा (भित्रिने र बाहिरिने रकमबीचको अन्तर) रु. २ खर्ब ४७ अर्बले घाटामा पुगेको छ। यो अघिल्लो महीना रु. २ खर्ब ४१ अर्बले घाटामा थियो। चालु खाता घाटा करीब रु. ४ खर्ब १४ अर्बमा पुगेको छ।
माघसम्म आइपुग्दा देशको विनिमय सञ्चिती ९ अर्ब ७५ करोड डलरमा ओर्लिएको छ। पुसमा यो ९ अर्ब ८९ करोड डलर थियो। एक महीनामा डलरको सञ्चिती करीब १४ अर्ब डलरले घटेको हो। यद्यपि, यो परिमाणको विदेशी विनिमय सञ्चितिले ७.४ महिनाको वस्तु आयात र ६.७ महिनाको वस्तु तथा सेवा आयात धान्न सक्ने राष्ट्र ब्यांकले जनाएको छ।
माघमा अन्तर्राष्ट्रिय मुद्रा कोषबाट एक्स्टेन्डेड क्रेडिट फसिलिटी अन्तर्गत रु. १३ अर्ब (११ करोड डलर) ऋण भित्रिएका कारण सरकारको शोधनान्तर स्थिति थप घट्न र विदेशी विनिमय सञ्चितीमा थप चाप पर्न कम भएको हो।
माघसम्म देशले रेमिटेन्सबाट रु. ५ खर्ब ४० अर्ब आम्दानी गरेको छ। यो गत वर्षको यही अवधिका तुलनामा ४.९ प्रतिशत कम हो।
माघमा आयातको वृद्धिदर केही मत्थर भएको छ। मंसीरसम्म मासिक रु. १ खर्ब ६७ अर्बजतिको आयात हुने गरेकोमा पुसमा यस्तो आयात रु. १ खर्ब ६० अर्ब हाराहारीमा ओर्लिएको थियो। माघमा भने आयात रु. १ खर्ब ४८ अर्ब हाराहारीमा झरेको छ। राष्ट्र ब्यांकले आयातलाई निरुत्साहन गर्न विभिन्न उपाय कार्यान्वयनमा ल्याएको छ।
माघसम्म देशले रु. ११ खर्ब ४७ अर्बको आयात गरेको छ। यो अघिल्लो वर्षको तु्लनामा करीब ४३ प्रतिशत धेरै हो। तर, यो अवधिमा निर्यात भने ८८ प्रतिशतले बढेर रु. १ खर्ब ३२ अर्ब पुगेको छ।
चालु आर्थिक वर्षको पहिलो सात महीनामा नेपालले वैदेशिक व्यापारमा रु. १० खर्ब १६ अर्ब घाटा बेहोरिसकेको छ।