रसुवागढी नाकाबाट आयात बढाउन नेपाल-चीनका अधिकारीबीच छलफल
उत्तरी नाका रसुवागढीबाट चिनियाँ सामग्रीको आयात बढाउने विषयमा दुवै देशका अधिकारीबीच छलफल भएको छ।
नेपाल-चीन सीमावर्ती जिल्लाका सुरक्षा अधिकारीबीच बिहीबार सम्पन्न भर्चुअल बैठकमा नाकाबाट आयात बढाउन र चीनतर्फ निर्यातको व्यवस्था मिलाउनेबारे छलफल भएको हो। कोभिड-१९ को प्रभाव कम हुँदै गएको र रसुवाका सबै नागरिकले कोभिड-१९ विरुद्धको पूर्ण खोप लगाइसकेकाले पूर्ववत रुपमा नाका सञ्चालन गर्ने विषयमा छलफल भएको प्रमुख जिल्ला अधिकारी नवराज जैसीले बताए।
नाका पूर्ण रूपमा सञ्चालन गर्न नसकिएमा दैनिक आयात हुँदै आएको सामग्रीको मात्रा बढाउन प्रस्ताव गरिएको छ। अहिले दैनिक ९ वटा कन्टेनरबाट मात्र सामग्री आयात हुँदै छ भने अबदेखि २५ पु¥याउन प्रस्ताव गरिएको उनले बताए।
लामो समयदेखि निर्यात रोकिएका कारण नेपाली सामग्री चीनतर्फ निकासी हुन सकेको छैन। त्यस विषयमा पनि छलफल भएको प्रजिअ जैसीले बताए।
यस्तै बैठकमा केरुङमा व्यापार व्यावसाय गर्दै आएका नेपाली कोभिड-१९ का कारण फर्किन नपाएको र अहिलेसम्म पनि घरभाडा तिर्नुपरेकाले सहजीकरण गर्न आग्रह गरिएको छ। नेपालमा २५ हजार मेट्रिक टन रासायनिक मल आयात हुन बाँकी रहेकाले ग्रिन च्यानलमार्फत आयात हुने व्यवस्था मिलाउन, चीन सरकारको अनुदानमा जिल्लाको टिमुरेमा निर्माण हुन लागेको सुख्खा बन्दरगाहको कामलाई तिब्रता दिन आग्रह गरिएको उनले बताए।
बैठकमा सहभागी चीनका ची लोङ काउन्टीका मेयर ता छोनले नेपाल पक्षको माग बमोजिम नाकाबाट सामग्रीको आयात बढाउने विषयमा चीन तयार रहेको बताए। यस्तै उनले सीमा सुरक्षामा प्रभावकारी भूमिका निर्वाह गर्न, कोभिड-१९ को नियन्त्रण एवम् रोकथाममा सहयोग गर्न, सीमा क्षेत्रमा हुने वन डडेलो नियन्त्रण गर्नका लागि विशेष पहल गर्न आग्रह गरेका थिए।
कोभिड-१९ का कारण २५ माघ, २०७६ देखि २२ जेठ, २०७७ सम्म रसुवागढी नाका बन्द भएको थियो। त्यसयता नाका सञ्चालनमा आएको भए पनि न्यून मात्र सामग्रीको आयात हुँदै आएको छ।