दलीय चुनाव चिह्न पाउनुपर्ने माग सहित सर्वोच्चमा रिट
स्थानीय निर्वाचनमा दलीय चुनाव चिह्नमा भाग लिन पाउनुपर्ने माग गरी सर्वोच्च अदालतमा रिट दायर भएको छ।
राष्ट्रिय जनमुक्ति पार्टीले चुनाव चिह्न ‘घर’ पाउनु पर्ने माग सहित बिहीबार रिट दायर गरेको सर्वोच्चका सूचना अधिकारी देवेन्द्र ढकालले जानकारी दिए।
जनमुक्ति पार्टीका उपमहासचिव समेत रहेका अधिवक्ता चेत आलेद्वारा दायर रिटमा भनिएको छ, “...निवेदक राष्ट्रिय जनमुक्ति पार्टीको दल निर्वाचन आयोगमा दर्ता हुँदाका बखत प्राप्त गरेको चुनाव चिह्न घर पाउने गरी आवश्यक अध्यादेश, ऐन, नियम ल्याउन, पारित गर्न प्रत्यार्थीहरूको नाउमा परमादेशको आदेश लगायत जो चाहिने उपयुक्त आज्ञा वा आदेश जारी गरिपाउँ।”
रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, संघीय संसद्, कानून मन्त्रालय र निर्वाचन आयोगलाई विपक्षी बनाइएको छ।
अहिलेसम्म निर्वाचन आयोगले राष्ट्रिय मान्यता प्राप्त दललाई मात्र निर्वाचनमा दलीय चुनाव चिह्न प्रदान गर्दै आएको छ। राष्ट्रिय मान्यता नपाएका अन्य २८ दलले पनि दलीय चुनाव चिह्न प्रदान गर्नुपर्ने माग गर्दै आएका छन्।