फुङलिङको आगलागीमा एक वृद्धाको मृत्यु
ताप्लेजुङ सदरमुकाम फुङलिङमा आज बिहान भएको आगलागीमा एक वृद्धाको मृत्यु भएको छ।
प्रहरीका अनुसार आगलागीमा जलेर घाइते भएकी ६७ वर्षीया चुलिमाया लिम्बूको मृत्यु भएको हो। उनलाई उपचारका लागि अस्पताल लग्दै गर्दा बाटोमै मृत्यु भएको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले बताए।
ताप्लेजुङकै मैवाखोला गाउँपालिका–३ ढुङगेसाँघुकी वृद्धा सदरमुकामस्थित छोरीको घरमा बस्दै आएकी थिइन्। आगलागी हुँदा उनको शरीर जलेको थियो।
रविन आङवोहाङको घरबाट आगलागी शुरू भएको थियो। आगो निभाउने क्रममा रविनसहित केही स्थानीय पनि घाइते भएका छन्।
दकमलको सहायताले स्थानीय बासिन्दा र सुरक्षाकर्मीले आगो नियन्त्रणमा लिएका छन्। आगलागीबाट शिव मादेनको घर पूर्णरूपमा जलेको छ भने रवीन्द्र लिम्बूको घरमा आंशिक क्षति पुगेको छ।