भारतीय विधान सभा चुनावः तीन राज्यमा भाजपा र पञ्जाबमा आपलाई स्पष्ट बहुमत
विधान सभा निर्वाचन भएका भारतका पाँच राज्यमध्ये उत्तरप्रदेश, उत्तराखण्ड र मणिपुरमा भारतीय जनता पार्टी (भाजपा) र पञ्जाबमा आम आदमी पार्टी (आप)ले स्पष्ट बहुमत प्राप्त गरेको छ।
गोवामा भने २० सिट पाएर सबै भन्दा ठूलो दल बनेको भाजपालाई बहुमतका लागि एक सिट अपुग भएको छ। यसअघि गोवामा भाजपाको सरकार थियो। दोस्रो ठूलो दल भारतीय राष्ट्रिय कांग्रेसले ११ र अन्य दलहरूले ९ सिट जितेका छन्।
कुल ४०३ सिट रहेको उत्तरप्रदेशमा २२४ सित सहित भाजपाले स्पष्ट बहुमत हासिल गरिसकेको छ। थप ३१ स्थानमा उसको अग्रता छ। समाजवादी पार्टी गठबन्धनले ९८ स्थान जितीसकेको छ भने २७ सिटमा अग्रता लिएको छ।
कुल ११७ सिट रहेको पञ्जाबमा आम आदमी पार्टी (आप)ले ९२ स्थानमा जितेको छ। र दोस्रो स्थानको कांग्रेसले १८ स्थानमा जित हासिल गरेको छ।
त्यस्तै, बहुमतका लागि ३६ सिट आवश्यक रहेको उत्तराखण्डमा भाजपाले ४६ र कांग्रेसले १७ स्थानमा जितेको छ।
मणिपुरको ६० सिटमध्ये ३२ स्थानमा भाजपाले जितेको छ।